जोकोभिकलाई नवौँ पटक अस्ट्रेलियन ओपनको उपाधि
सर्बियाका खेलाडी नोभाक जोकोभिकले नवौँ पटक अस्ट्रेलियन ओपन पुरुष एकलतर्फको उपाधि जित्दै कीर्तिमान राखेका छन्।
वर्षको पहिलो ग्रान्ड स्लाम उपाधि विजेता जोकोभिकले पुरुष एकलतर्फ सबैभन्दा धेरै पटक अस्ट्रेलियन ओपनकाे उपाधि जित्ने कीर्तिमान बनाएका हुन्। जोकोभिकले रसियन खेलाडी डानिल मेद्भेदेभलाई ७–५, ६–२ र ६–२ को सोझो सेटमा पराजित गरेका छन्।
यो उनको १८औँ ग्रान्ड स्लाम उपाधि हो। स्पेनका राफेल नाडाल र स्वीट्जरल्यान्डका रोजर फेडेररले २० वटा ग्रान्ड स्लाम उपाधि जितेका छन्।
३३ वर्षीय जोकोभिकले मेलबर्न पार्कमा अहिलेसम्म फाइनल खेल हारेका छैनन्। उता चौथो वरीयताका २५ वर्षीय मेद्भेदेभले अहिलेसम्म ग्रान्ड स्लामको फाइनलमा जित निकाल्न सकेका छैनन्। उनको यो दोस्रो ग्रान्ड स्लाम फाइनल थियो।
यसअघि मेद्भेदेभले सन् २०१९ को युएस ओपनको फाइनल खेलेका थिए। उनी राफेल नाडालसँग पराजित भएका थिए। आज जोकोभिकसँग पराजित भएपछि उनले भने, “जब मैले पहिलो पटक नोभाक जोकोभिकलाई भेटेको थिएँ, म विश्वमा ५०० या ६००औँ वरीयता प्राप्त थिएँ, उनी एक नम्बरमा थिए।”
यसअघि हिजो भएको महिला एकलको उपाधि जापानकी नाओमी ओसाकाले जितेकी थिइन्। उनले फाइनलमा जेनिफर ब्राडीलाई ६–४ र ६–३ को सोझो सेटमा हराएकी थिइन्।