संसद् विघटनको मुद्दामा बहस सकियो, बहस नोट पेश गर्ने समय १० फागुनसम्म
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ।
शुक्रबार संवैधानिक इजलासमा एमिकस क्युरी (अदालतका सहयोगी) गीता पाठकले राय दिएसँगै संसद् विघटनसम्बन्धी मुद्दामा बहस सकिएको हो। ४ फागुन मंगलबारदेखि एमिकस क्युरीका रूपमा पाँच जना वरिष्ठ अधिवक्ताले आफ्नो राय दिएका थिए।
५ पुसमा संसद् विघटन भएपछि परेको रिटमा सर्वोच्च अदालतमा ८ पुसदेखि सुनुवाइ शुरू भएको थियो। ४ माघदेखि सर्वोच्चको संवैधानिक इजलासले निरन्तर सुनुवाइ भन्दै दैनिक सुनुवाइ गरेको थियो।
बहस सकिएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० फागुनसम्म बहस नोट पेश गर्न यस रिट सम्बद्ध कानून व्यवसायीहरूलाई आग्रह गरेका छन्। वकीलहरूले निर्णय सुनाउने (निसु) को समय तोक्न आग्रह गरेपछि प्रधानन्यायाधीशले ११ गते हेर्दाहेर्दैमा राख्ने र त्यही दिन निर्णय आउन पनि सक्ने र अर्को दिन पनि हुनसक्ने बताए।
प्रधानन्यायाधीशले इजलासमा भने, “अहिले निसुको प्रश्न छैन । १० गतेसम्म बहस नोट पेश गर्नुस्। ११ गते हेर्दाहेर्दैमा राखौँ । त्यही दिन पनि निर्णय हुनसक्छ, अर्को दिन पनि हुनसक्छ।”