महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न राष्ट्रपतिको पहल
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने हिंसा न्यूनीकरण गरी हिंसामुक्त समाजको निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएकी छिन्।
राष्ट्रपति भवन, महाराजगञ्जमा विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरू, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँगको छलफलमा राष्ट्रपति भण्डारीले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण गर्न नीतिगत र कानुनी व्यवस्थाका साथै समाजको मानसिकतामा परिवर्तन ल्याउन पहल गर्नुपर्ने बताइन्।
“हाम्रा राजनीतिक संघर्षहरूको परिणामस्वरूप संरचनामा परिवर्तन आएको छ,” राष्ट्रपति भण्डारीले भनिन्, “महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ सकारात्मक परिवर्तन ल्याउन थप प्रयास जरुरी देखिएको छ।”

उनले महिलालाई सम्मान दिने असल सामाजिक परम्परा पनि भएको उल्लेख गरिन्। तिनको रक्षा गर्दै छुवाछूत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान शुरू गर्न राष्ट्रपति भण्डारीले सबैलाई आह्वान गरिन्।
केही अघि कञ्चनपुर र अहिले बैतडीमा किशोरीमाथि भएका जघन्य हिंसा र हत्याका घटनामा राष्ट्रपतिको चासो र चिन्ता रहेकाले नीतिगत, कानुनी र व्यावहारिक सुधारको पहल गर्न राष्ट्रपति कार्यालयले सरोकारवालाहरूसँग छलफलको आयोजना गरेको हो। “समाजमा हुने हिंसात्मक घटनाहरूप्रति सम्माननीय राष्ट्रपति धेरै संवेदनशील हुनुहुन्छ,” राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीका ढकालले भने, “त्यही संवेदनशीलताकै कारण कार्यक्रम आयोजना गरिएको हो।”
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले सबै सुझावहरूलाई मन्त्रालयले एकीकृत गरी नीतिगत सुधार र सामाजिक अभियानको नेतृत्व गर्ने बताइन्।
छलफलमा राष्ट्रिय महिला आयोगका अध्यक्ष तथा सदस्यहरू, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोगका सदस्यहरू, संयुक्त राष्ट्रसंघीय सिड कमिटीका उपाध्यक्ष वन्दना राणासहित महिला अधिकारकर्मी तथा क्रियाशील महिला सञ्चारकर्मीको उपस्थिति थियो।