मृत्यु भएको १७औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो।
यसअघि भागरथीको परिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानूनी कारबाही गर्नुपर्ने माग गरेको थियो। प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो।
सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए। भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन।
बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिलसामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ। बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो।
जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। गोठलापानीबाट बिहान ११ बजे शवयात्रा शुरू हुने भागरथीका काका शिवराज भट्टले बताए।
उनका अनुसार गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
२१ माघमा विद्यालय गएकी उनी साँझ घर नफर्केपछि खोजबिन भएको थियो। उनको २२ माघ साँझ घरनजिकै रहेको स्थानीय लवलेक जङ्गलमा शव भेटिएको थियो।