फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि
नेपाल आयल निगमले एक सातामै दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु. दुईका दरले वृद्धि गरेको हो। त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु.२५ बढाएको छ।
मूल्यवृद्धिपछि अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर रु. ११४ र डिजेल तथा मट्टीतेलको रु. ९७ पुगेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु. ६७ र एलपी ग्यास प्रतिसिलिन्डर रु. एक हजार ४०० कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
यसअघि २८ माघमा डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्दा हवाई इन्धनको मूल्य यथावत् राखिएको थियो।
मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा रहेकाे निगमले जनाएको छ।