ट्राफिक जाम छल्दा भारतमा बस दुर्घटना, ३४ यात्रुको मृत्यु
ट्राफिक जाम छलेर वैकल्पिक सडक रोज्दा भारतको मध्य प्रदेशमा बस दुर्घटना भएको छ। दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता छन्।
मध्य प्रदेशको रामपुरनजिकै बाणसागरको नहरमा बस खसेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार ट्राफिक जामका कारण मुख्य सडकमा नगएर नहरको किनारैकिनार बस गुडाउँदा दुर्घटना भएको हो।
झाँसीबाट राँची जाँदा ठाउँठाउँमा सडक भत्किएको छ। कतिपय ठाउँमा गाडी एकतर्फी मात्रै चल्ने भएकाले घन्टौँ जाम हुने गरेको छ। त्यसैले मुख्य सडक छोडेर वैकल्पिक बाटोका रूपमा नहरको किनारैकिनार बस गुडाउने गरिएको छ।
यात्रुवाहक बस नहरमा डुबे पनि बस चालक भने पौडी खेलेर निस्केका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीले ६ जना यात्रुको उद्धार गरेका छन्। नहरमा पानीको बहाव भएकाले केही यात्रुलाई बगाएको उद्धारमा खटिएका स्थानीय बासिन्दाको भनाइ छ।
बसलाई क्रेनको सहायताले निकालिएको छ। बस निकालेपछि यात्रुका शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
बसमा ५४ जना सवार थिए। उनीहरूमध्ये ३४ जनाको शव भेटिएको हाे। अन्य १४ जनाको खोजी भइरहेको छ।
प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले क्षमताभन्दा बढी यात्रु रहेको जनाएको छ। ३२ यात्रुको क्षमता भए पनि ५४ जना राखिएको मध्य प्रदेश प्रहरीले जनाएको छ।