अब केही दिनभित्र संयुक्त आन्दोलन हुन्छ : दाहाल
नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा विघटनविरुद्ध अब संयुक्त आन्दोलन गर्ने बताएका छन्।
मंगलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले संयुक्त आन्दोलनकाे छलफल चलिरहेको बताए। कांग्रेस र जसपाका नेताहरूसँग कुराकानी भइरहेको बताउँदै दाहालले भने, ‘‘आन्दोलन भइरहेकै छ, तर यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास पनि गरिराखेकै छन्। हिजै मात्र शेरबहादुरजीलाई यसलाई संयुक्त बनाऔं भनेर कुरा गरेकाे छु। रामचन्द्रजी, जसपाका नेताहरूसँग पनि कुरा भएको छ।’
कांग्रेस र जसपाका नेताहरूसँगको कुराकानी सकारात्मक रहेको उनको भनाइ थियो। छिट्टै संयुक्त आन्दोलन हुने बताउँदै दाहालले भने, ‘‘मलाई लाग्छ अब केही दिनभित्र आन्दोलन संयुक्त हुन्छ।’’
अध्यक्ष दाहालले अहिलेको अवस्थामा चुनाव भए पनि असंवैधानिक हुने जिकिर गरे। अहिले चुनावले देशको समस्या समाधान नहुने उनको भनाइ थियो। ‘‘चुनावै भए पनि त्यो अलोकतान्त्रिक र असंवैधानिक हुन्छ। कोही प्रधानमन्त्री भयो भने फेरि यसलाई विघटनको अधिकार हुन्छ भन्ने नजिर हुन्छ। यस्तो दुष्कर्म हामीले गर्न हुँदैन,’’ दाहालले भने।
अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्नेमा विश्वस्त रहेको अध्यक्ष दाहालको भनाइ थियो। प्रतिनिधि सभा पुनःस्थापना नहुँदा देश अराजकता र अतिवादतर्फ जाने बताए।
सोमबार चितवन आएका दाहालले सिटी हलको निरीक्षणपछि पत्रकारसँग कुराकानी गरेका हुन्। उनले सोमबार आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानको भ्रमण पनि गरेका थिए।