दोरम्बामा १८ माओवादी कार्यकर्ताको शव उत्खनन् गर्दा के देखियो?
माओवादी सशस्त्र द्वन्दको रिपोर्टिङ गर्दा पत्रकारले देखे र भोगेका विषय समेटिएको भिडियो म्यागजिन ‘सग्लो समाज’काे नयाँ अंक ‘डरै डरको जुग’ आज प्रसारण हुन लागेको छ।
दोरम्बामा सेनाले मारेका १८ जना माओवादी कार्यकर्ताको शव उत्खनन् गर्दा के देखियो? माओवादीले जाजरकोटको पिली आक्रमण गरेपछिको दृश्य कस्तो थियो? जुम्लामा माओवादीले नियन्त्रणमा लिँदा के सोचियो? यस्तै प्रश्नको जबाफ समेटेर विशेष रिपोर्ट ‘डरै डरको जुग’ तयार गरिएको छ।
सरकार र माओवादीबीच वार्ता चलिरहेकाे वेला ३२ साउन, २०६० मा रामेछापकाे दोरम्बामा सेनाले माओवादीका १८ जना कार्यकर्तालाई मारेको थियो। उनीहरुलाई नियन्त्रणमा लिएर गोली हानेको थियो।
वार्ता चलिरहेका वेला माओवादी कार्यकर्ता मारिएपछि युद्ध विराम भग भयाे। र फेरि द्वन्द चर्कियाे। उनीहरुका शव उत्खनन्मा संलग्न टोलीका सदस्य पत्रकार कनकमणि दीक्षितले त्यससम्बन्धी जानकारी भिडियो म्यागजिनमा दिएका छन्।
त्यस्तै, द्वन्द रिपोर्टिङका क्रममा देखे र भोगेका अनुभवन पत्रकारहरु अमृता लम्साल, कुन्द दीक्षित, ध्रुब बस्नेत र मोहन मैनालीले ‘डरै डरको जुग’मा सुनाएका छन्।
२५ वर्ष अघि १ फागुनमा माओवादीले लडाइ थालेको थियो। त्यो सशस्त्र द्वन्दमा १७ हजार नागरिकले ज्यान गुमाए, कयौँ अझै पनि वेपत्ता छन। कयौँ अंगभंग भए र लाखौँ प्रत्यक्ष रुपमा प्रभावित भए।
यिनै विषयलाई समेटेर तयार पारिएको भिडियो म्यागजिन ‘सग्लाे समाज’ आज साँझ ८ः३० बजे डिसहोमको सरोकार च्यानल १३० मा हेर्न सकिनेछ।