दाहाल-नेपाल समूहद्वारा थप आन्दोलन घोषणा, राजधानीदेखि वडावडासम्म प्रदर्शन
नेकपा (दाहाल–नेपाल) समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अबको आन्दोलनमा संघीय राजधानीदेखि वडावडासम्म प्रदर्शन गर्ने भएको छ।
आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। अब सबै स्थानीय तहका वडावडासम्म विरोधका कार्यक्रम गर्ने भएको छ।
दाहाल–नेपाल समूहले ५ देखि १२ फागुनसम्म प्रदेश कमिटीको समन्वयमा जिल्लाजिल्लामा प्रदर्शन गर्ने भएको छ। त्यस्तै, ६ फागुनमा काठमाडौंको टुँडिखेल वरिपरि मानव साङ्गलो बनाएर विरोध जनाउने भएको छ।
यसैगरि ७ फागुनमा सबै स्थानीय तहका वडावडामा प्रदर्शन गरिने भएको छ भने ७ देखि १५ फागुनसम्म प्रतिनिधि सभा विघटनको विरोधमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गर्ने तय गरिएको छ।
महिलामाथिका हिंसा तथा बलात्कारको विरोधमा ९ फागुनमा देशव्यापी रुपमा महिला माेर्चाको प्रदर्शन गर्ने भएको छ। त्यस्तै, १० फागुनमा दलित मोर्चाको र ११ फागुनमा मधेशी, आदिवासी, जनजाति, मुस्लिम, थारु, पीछडिएको क्षेत्रको प्रदर्शन हुने भएको छ।
त्यसपछि देशका प्रमुख शहरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाे छ। १२ फागुनमा चितवनमा र २१ फागुनमा दाङ, जनकपुर, नेपालगन्जलगायतमा शहरमा प्रदर्शन गरिने नेकपाले जनाएको छ।
त्यस्तै, काठमाडौंमा १४ फागुनमा युवाको र्याली र १५ फागुनमा किसान र सुकुम्बासी मोर्चाको प्रदर्शन हुने भएको छ।