भागरथीलाई न्यायका लागि नेविसंघको प्रदर्शन
बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ।
नेविसंघ केन्द्रीय समितिको आयोजनामा काठमाडौंको बागबजारमा प्रदर्शन गरिएको हो। पद्मकन्या क्यापम्पस अगाडि ¥यालीसहित प्रदर्शन गरेका विद्यार्थीले घटनाको छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरे।
बागबजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघघका अध्यक्ष राजिव ढुङ्गानाले सरकारले भागरथीको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउन माग गरे।
त्यस्तै, नेपाल महिला संघकी महासचिव एवं राष्ट्रियसभा पूर्वसदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन बलात्कार र हत्याका घटना बढिरहेको उल्लेख गर्दै न्यायका लागि सबैले खबरदारी गर्नुपर्ने बताइन्।
२१ माघमा विद्यालय गएकी भागरथीको २२ माघ साँझ गाउँ नजिकैको जंगलमा शव भेटिएको थियो। बलात्कारपछि हत्या गरिएको जनाउँदै प्रहरीले अनुसन्धान गरिरहेको छ।
अहिलेसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ पर्न सकेको छैनन्। परिवारजनले भागरथीको शव बुझेका छैनन्। उनीहरुले हत्यारा पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान लिएका छन्। भागरथीको शव बैतडी जिल्ला अस्पतालमै रहेको छ।
यतिका दिनसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै सबैतिरबाट विरोध हुन थालेको छ। बैतडीमा पनि विद्यार्थीले दैनिक प्रदर्शन गरिरहेका छन्।
हत्यारा पत्ता लगाउन दबाब दिन नेविसंघले पनि प्रदर्शन गरेको जनाएको छ। भागरथीको परिवारले न्याय नपाउँदासम्म निरन्तर खबरदारी गर्ने नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए।