मनाङको जंगलमा फेरि आगलागी
मनाङको जङ्गलमा फेरि आगलागी भएको छ। केही दिनदेखि मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा आगलागी भएको हो।
यो जंगलमा २९ माघमा आगलागी भएको थियो। स्थानीयवासी र सुरक्षाकर्मीले निभाएको भएपनि फेरि आगलागी भएको प्रहरीले जनाएको छ।
भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए। मानव बस्तीभन्दा दुई घन्टा टाढाको दूरीमा आगलागी भएको उनले बताए।
आगलागीबाट कुनै मानवीय तथा पशुचौपायमा क्षति भएको छैन। स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले आगो निभाउन खटिएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गका वनमा आगो लागेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए। “हामीले हाम्रोतर्फबाट प्रयास गरिरहेका छौँ,” लामिछानेले भने।
मनाङमा भएका आगलागीमा अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वन परेको तथा यसको जिम्मेवारी एक्यापले लिनुपर्ने स्थानीय वासिन्दाको भनाइ छ। “जङ्गल जलिरहेको छ, हाम्रा कर्मचारी र स्थानीयवासी परिचालन भएका छन्, अनुसन्धानको दायरा कसिलो बनाएका छौँ, कसरी आगो लाग्यो भन्ने कुरा अझै पत्ता लगाउन सकेका छैनौँ,” अन्नपूर्ण संरक्षण क्षेत्रका मनाङ प्रमुख लेखनाथ गौतलमे भने। उनले स्थानीयवासीले मुख नखोल्दा आगलागीको कारण तथा व्यक्ति पत्ता लगाउन र अनुसन्धान गर्न कठिन भएको बताए।
यसभन्दा अघि पनि दुई पटक मनाङको विभिन्न जङ्गलमा आगलागी भएको थियो। आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन। कसले र किन पटक–पटक मनाङका जङ्गलमा आगो लगाइरहेको छ भन्ने खुलेको छैन। आगलागीका कारण हिमाली जडीबुटी र लोपोन्मुख जनावरको विनाश भइरहेको छ। (रासस)