साढे ५ घन्टापछि रिहा भएकी झाँक्रीले भनिन् : प्रतिगमन झुक्ने प्रक्रिया शुरु भयो
प्रहरीले पक्राउ गरेको करीब साढे पाँच घन्टापछि नेकपा दाहाल-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ। बिहीबार दिउँसो १ बजे पक्राउ परेकी उनी साँझ साढे ५ बजे रिहा भएकी हुन्।
महानगरीय अपराध महाशाखाले झाँक्रीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको जनाएको छ। हिरासतमुक्त भएपछि नेत्री झाँक्रीले आफ्ना अभिव्यक्तिमा कुनै पश्चाताप नभएको बताएकी छिन्। उनले आफू अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लडिरहने पनि बताइन्।
कसैले पनि जाहेरी नदिएको अवस्थामा आफू पक्राउ परेको र यसमा प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रत्यक्ष दबाब रहेको उनले बताइन्। “राष्ट्रपति र प्रधानमन्त्री पदहरूप्रति हामीलाई जहिल्यै पनि सम्मान छ। ती पदमा रहने व्यक्तिका गलत कदमविरुद्ध हामीले आवाज उठाएका हौँ। यसमा मलाई कुनै पश्चाताप छैन,” उनले भनिन्।
झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया शुरु भएको बताइन्। उनले भनिन्, “देशभर भएको प्रदर्शन र दबाबको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ। हामी जित्दैछौं।” झाँक्रीले आफू विनाशर्त रिहा भएको बताएकी छन्। प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको पनि उनले बताइन्।
महानगरीय अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर उनलाई पक्राउ गरेको थियो। उनलाई मीनभवनस्थित महाशाखाको कार्यालयमा राखिएको थियो। उनले गोरखाको एक सभामा राष्ट्रपतिबारे गरेको टिप्पणीका कारण पक्राउ गरिएको बताइएको छ।
झाँक्रीलाई पक्राउ गर्न प्रहरी शंखमुलस्थित उनको घर पुगेपछि भेला भएका कार्यकर्ताले नाराबाजी गरेका थिए। उनले त्यहाँ उपस्थित कार्यकतालाई सम्बोधन गरेपछि गिरफ्तारी दिएकी थिइन्। त्यसपछि नेकपा दाहाल नेपाल समूहका कार्यकर्ताले बानेश्वर क्षेत्रमा दिनभरजसो नारबाजी गरेका थिए।