पूर्वाधार क्षेत्रमा लगानी गर्न एनआरएनएको पहलमा रु. १० अर्बको कोष स्थापना गरिने
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी रु. १० अर्बको कोष स्थापना गर्ने तयारी गरिएको छ । त्यसका लागि एनआरएनएले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अगाडि बढाएको छ।
स्थापना हुने कम्पनी मार्फत उक्त कोषमा अर्थ मन्त्रालयले नेपाल सरकारको तर्फबाट पाँच प्रतिशत लगानी गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयमा बसेको यससम्बन्धी बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकम दिने र एक साताभित्र कम्पनी दर्ता गर्न सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले यो कम्पनीमा संघको १० प्रतिशत र विदेशमा रहेका नेपालीहरुको ८५ प्रतिशत शेयर स्वामित्व हुने बताए । गैरआवासीय नेपालीहरुको लगानीका लागि शेयरको प्राथमिक निष्कासन (आईपीओ) जारी गरिने उनले बताए।
अध्यक्ष पन्तले यो कोष मार्फत लगानीका क्षेत्रबारे पनि प्रस्तावहरु आइसकेको बताए । त्यस्तै, विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको र यो कोषले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने पन्तले बताए।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायतको सहभागिता थियो।