हामीले उठाएको मुद्दा ठीक छ, जित हाम्रै हुन्छ : दाहाल

नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले उठाएका मुद्दा ठीक भएकाले जित आफ्नै हुने बताएका छन्।
शुक्रबार पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष दाहालले आमसभामा देखिएका मानिसको टाउको गनेर जनता कसको पक्षमा छन् भन्ने कुराले अर्थ नराख्ने बताए। “आमसभामा उपस्थित् भएका मानिसको टाउको गनेर गरिने मुल्यांकनले कुनै अर्थ राख्दैन,” दाहालले भने, “मुख्य कुरा मुद्दा हो, हामीले उठाएको मुद्दा ठीक छ। हामीले उठाएको मुद्दामा यो देशका ‘बेस्ट व्रेन’हरुको साथ छ। जित हाम्रै हुन्छ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघठन प्रतिगमन नै भएको दाहालको भनाइ थियो। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त र नागरिक समाजलगायत समाजको बौद्धिकबर्ग आफूहरुले उठाएकै मुद्दामा सहमत भएकाले आफूहरु सही ठाउँमा भएको उनको जिकिर थियो।
संवैधानिक आयोगमा भएको नियुक्ति गुण्डागर्दी टाइपको निर्णय भएको उनको भनाइ थियो। सरकारविरुद्ध आगामी दिनमा गरिने आन्दोलन आमहड्तालका रुपमा रुपान्तरण हुने सक्ने दाहालले बताए। “आमहड्ताल हुन पनि सक्छ, भयो भने जनताको पहलमा हुनसक्छ। तर, हाम्रो नीति र सोच जनतालाई अप्ठ्यारो पार्ने गरी आमहड्ताल गर्ने भन्ने छैन,” दाहालले भने ।
नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले संवैधानिक आयोग र भूमि समस्या समाधान आयोगमा गरिएको नियुक्तिको विरोधमा प्रतिकात्मक विरोध स्वरुप आमहड्तालको आयोजना गरिएको बताए। उनले अहिले देशमा उत्पन्न परिस्थितिको सम्पूर्ण कारक तत्व प्रधानमन्त्री ओली भएको बताए। “यो नेकपाको आन्तरिक मामिला मात्र होइन, केपी ओलीले प्रजातन्त्रको घाँटी निमोठ्ने काम गरे। त्यसकारण यो परिस्थितिको सिर्जना भएको हो,” नेता अध्यक्ष नेपालले भने, “केपी ओलीले जे गर्दछन्, हामी टुलुटुलु हेरेर बस्नेवाला छैनौँ भन्ने सन्देश आमहड्तालले दिएको छ। त्यो ओलीले बुझे हुन्छ।”
अध्यक्ष नेपालले प्रधानमन्त्री ओली समूहलाई नेकपाको आधिकारिकता दाबी गर्ने अधिकार नभएको जिकिर गर्दै चोइटिएर जानेले आधिकारिकता दाबी गर्न नसक्ने उल्लेख गरे। “नेकपाको आधिकारिकतामा कसैले आँखा लगाउँछ भने त्यो स्वीकार्य छैन। पार्टी चोइटिएर जाने हो भने बालकोट गएर बसे हुन्छ। ओलीको धम्कीले कोही तर्सिनेवाला छैन, चेतना भया।”