२३ वर्षमा प्रतिव्यक्ति आय ११ गुणा बढाउने, गरिबी दरलाई शून्यमा झार्ने सरकारको नयाँ लक्ष्य
२३ वर्षमा प्रतिव्यक्ति आय ११ गुणा बढाउने लक्ष्यसहित सरकारले नेपालको दीर्घकालीन सोच, २१०० पारित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षताको आइतबारको पूर्ण वैठकले सरकारको विकासको यो दीर्घकालीन मार्गचित्रलाई पारित गरेको हो।
राष्ट्रिय योजना आयोगले तयार गरेको गरेको दीर्घकालीन योजनामा वि.सं. २१०० सम्ममा (सन् २०४३) सम्ममा प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलर पुर्याउँदै मध्यम आय भएको मुलुकमा उक्लिने लक्ष्य तोकिएको छ। अहिले नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हाराहारीमा छ।
प्रतिव्यक्ति आयलाई १२ गुणा बढाउन सरकारले वार्षिक आर्थिक वृद्धिदर १०.५ प्रतिशत कायम गर्ने लक्ष्य तोकिएको छ। तर, नेपालले अहिलेसम्म कुनै वर्ष पनि यो उच्च अवस्थाको आर्थिक वृद्धिदर हासिल गरेको छैन।
दीर्घकालीन सोचले दुई वर्षभित्र अर्थात २०७९ सालसम्ममा देशलाई अतिकम विकसित मुलुकबाट विकासशील देशको सूचिमा उकाल्ने र प्रतिव्यक्ति आय १४०० डलर पुर्याउने लक्ष्य राखेको छ। तीन चरणमा नेपालको विकासको गतिलाई अघि बढाउँदै चालु पन्ध्रौं योजनाको अवधिमा समृद्धि र सुखको आधार निर्माण गर्ने, सोह्रो र सत्रौ योजनाको अवधिमा समृद्धि र सुखको गतिलाई तिव्रता दिने तथा १८औं र १९औं योजनाको अवधिमा समृद्धि र सुखको दिगोपना हासिल गर्ने दीर्घकालीन सोचमा उल्लेख छ।
कृषि उद्योग र सेवाको क्षेत्रलाई परिस्कृत र आधुनिकीकरण गर्दै अर्थतन्त्रको संरचनागत रुपान्तरण गरिने लक्ष्यलाई यो दीर्घकालीन योजनाले अघि सारेको छ। राष्ट्रिय लक्ष्य र गन्तव्यको प्राप्तिका लागि १० लक्ष्य र ७६ सूचक तयार गरिएका छन्।
जसमा, वि.सं. २१०० सम्ममा आर्थिक वृद्धिदर वार्षिक १०.५ प्रतिशत हासिल गर्ने, निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या शुन्यमा झार्ने, बहुआयामिक गरिबी दरलाई ३ प्रतिशतमा झार्ने लक्ष्य तोकिएका छन्।
अहिले निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या करीब १७ प्रतिशत रहेको अनुमान छ। बहुआयामिक गरिबीका हिसाबले करिब एक चौंथाई मानिस अझै पनि गरिबीमा रहेको अनुमान छ ।
त्यस्तै, जलविद्युत र नवीकरण ऊर्जाको जडित क्षमता ४० हजार मेगावाट पुर्याउने, शतप्रतिशत घरपरिवारमा विद्युत र इन्टरनेट पहुँच पुर्याउने, ९९ प्रतिशत जनसंख्याको घरबाट ३० मिनेटसम्मको दूरीमा यातायात पहुँच पुर्याउने, औसत आयुलाई ८० वर्षमा पुर्याउने, १५ वर्षमाथिको साक्षरता दर ९९ प्रतिशत पुर्याउने, ९५ प्रतिशत घरपरिवारमा उच्च मध्यमस्तरको खानेपानी पहुँच पुर्याउने, मानव विकास सूचकांक ०.७६ अंकमा पुर्याउने लगायतका लक्ष्य यो दीर्घकालीन सोचमा तोकिएका छन्।
लक्ष्यअनुसार मानव विकास सूचकांक भेट्टटाए नेपाल २३ वर्षपछि अहिलेको चीनको दाँजोमा पुग्छ। अहिले चीनको मानव विकास सूचकांक ०.७६१ छ। नेपालको मानव विकास सूचकांक ०.६०२ छ।