नागरिक प्रदर्शनमा प्रहरीको दमन, 'तेस्रो जनआन्दोलन'काे घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको विरोधमा निकालिएको नागरिक मार्च पासमा प्रहरीले हस्तक्षेप गरेको छ ।
हस्तक्षेपका क्रममा प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो ।
‘बृहत् नागरिक आन्दोलन २०७७’ समूहका नाममा विरोध जनाउन गएका समूहले त्यसअघि कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारतर्फ मार्च गरेका थिए ।
यसक्रममा प्रहरीले प्रधानमन्त्री निवासबाट करीब पाँच सय मिटरवरै भाटभटेनी पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर नागरिक प्रदर्शनकारीलाई रोकेको थियो । पीपलबोटमा आयाेजित कोणसभालाई डा. गोविन्द केसी, खगेन्द्र सङ्ग्रौला, मोहना अन्सारी र नारायण वाग्लेले सम्बोधन गरेका थिए ।
प्रदीप देवानले गीत र प्रणिका कोयूले कविता वाचन गरेकी थिइन् । शिल्पी थिएटरले सडक नाटक प्रदर्शन गरेको थियो ।
प्रहरी हस्तक्षेपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीले भने बालुवाटारमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको बताएको छ ।
‘बृहत् नागरिक आन्दोलन २०७७’का अभियन्ता नारायण वाग्लेले शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेपलाई ‘बर्बर दमन’ भएकोको संज्ञा दिए । उनले अब तेस्रो जनआन्दोलनको आवश्यकता रहेको पनि बताए ।
प्रदर्शनमा ऐक्यवद्धता जनाउन पुगेका दाहाल–नेपाल नेकपाका नेता रघुजी पन्त स्वयंले पनि प्रहरको लाठी खाए । उनले सरकारको यो हदसम्मको अलोकतान्त्रिक कदम दुःखद भएको र थप आन्दोलनको आवश्यकता रहेको बताए ।
'तेस्रो जनआन्दोलन' घोषणा
यसैबीच बृहत् नागरिक आन्दोलनले विज्ञप्ति प्रकाशित गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेको छ ।
आन्दोलनका तर्फबाट युग पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– सरकारी रवैयाको वृहत् नागरिक आन्दोलन घोर भत्र्सना गर्दछ । यसै विज्ञप्तिमार्फत् सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध वृहत् नागरिक आन्दोलन तेस्रो जनआन्दोलन घोषणा गर्दछ ।
विज्ञप्तिमा प्रदर्शनमा प्रहरीको हस्तक्षेप क्रममा निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी गम्भीर घाइते भएको र उनीहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको भनिएको छ ।