दाहालको टिप्पणी- ‘सिंगो देश स्तब्ध छ, ओली हाँस्दै हिँड्नुभएको छ’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधानमाथि प्रहार हुँदा सिंगो देश स्तब्ध भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने हाँस्दै हिँडेको टिप्पणी गरेका छन्। लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेको दाहालको टिप्पणी छ।
प्रधानमन्त्री ओलीले एकताको बेलाका सिद्धान्तलाई अतिक्रमण गरेको तथा पार्टीको संगठनात्मक मूल्यमान्यताभन्दा बाहिर गएको पनि उनको भनाइ छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरू भने कम्युनिष्ट आन्दोलनको एकताको प्रतिनिधित्व गर्न चाहेको बताए।
उनले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरूलाई निर्देशन समेत दिए।
लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेर आफूहरूमाथि आक्रमक हुनुपर्ने बाध्यता सिर्जना गरिदिएको भन्दै आवेश र आक्रोशसहितको जुझारु आन्दोलन गर्न युवाहरूलाई निर्देशन दिएका हुन्।
आन्दोलनमा युवाहरू मात्रै नभई अग्रमोर्चामा आफू पनि सहभागी हुने उनको भनाइ छ।
ओलीलाई जनताले होइन, पार्टीले प्रधानमन्त्री बनाएको हो
ओलीलाई जनताले प्रधानमन्त्री बनाएको नभई पार्टीले प्रधानमन्त्री बनाएको दाहालले टिप्पणी गरे। पार्टीको बहुमतको निर्णय मान्ने संसारभरको प्रचलन रहेपनि ओलीले पार्टीको बैठक छलेर हिंड्ने गरेको अध्यक्ष दाहालको आरोप छ।
ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको समेत दाहालले आरोप लगाए।
पार्टी एकता गर्दा समाजवादको पूर्वाधार निर्माण गर्नेतर्फ अघि बढ्ने भनिएको भएपनि प्रधानमन्त्री ओलीले सरकारको नीति, कार्यक्रम तथा बजेटको विषयमा कुनै कमिटीमा छलफल नगरी समाजवादउन्मुख बजेट ल्याउन नसकेको दाहालको टिप्पणी छ।
अध्यक्ष दाहालले केपी ओली प्रवृत्तिविरुद्ध ‘मेजर अपरेशन’ आवश्यक रहेको औंल्याए।