अर्थमन्त्री पौडेल भन्छन्- ‘जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको हो’
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका छन्। शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका हुन्।
देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता जनता हुने भन्दै उनले जनता सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए।
नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको उनको दाबी छ। यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि मन्त्री पौडेलले बताए।
मन्त्री पौडेलले आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधि सभाको निर्माण गर्ने बताए। निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिने उनको भनाइ छ। मन्त्री पौडेलले सरकारले कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको जानकारी दिए।
विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रूपमा सम्पूर्ण नेपालीलाई कोभिड विरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध गराइने मन्त्री पौडेलले बताए।
कोभिड–१९ विरुद्धको भ्याक्सिन आयातका लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको उनले बताए।
मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेको प्रबन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तर्राष्ट्रिय दातृ निकायहरूले स्वेच्छिक रूपमा सहयोग गर्न सक्ने व्यवस्था गरेको भएपनि देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोग लिने अथवा सहयोगको अपील गर्ने नगरिएको दाबी गरे।