कानूनविदहरूले भने- ‘प्रतिनिधि सभा विघटन संविधान विपरीत नै हो’
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम संविधान विपरीत भएको कानूनविद्हरूले बताएका छन्। बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कानूनविद्हरूले प्रधानमन्त्रीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताए।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले प्रधानमन्त्रीले संसद विघटनको विषय राजनीतिक भएको भने पनि यो विषय संवैधानिक विषय नै भएको बताए।
संविधानको धारा उल्लेख गरेर संविधान विघटन गर्ने अनि सार्वजनिक रूपमा बोल्दा राजनीतिक विषय भन्ने कुरा नसुहाउने पूर्वन्यायाधीश लालले बताए। संविधानको धारा ७६ को उपधारा ७ स्वतन्त्र रूपले प्रयोग गर्न सक्ने धारा नभएको उनको तर्क छ।
धारा ७६ को उपधारा १ र २ बमोजिम बनेका प्रधानमन्त्रीले उपधारा ७ बमोजिम संसद विघटन गर्न नसक्ने भएकोले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको उनको भनाइ छ।
संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले संसदले सरकारको नीति, कार्यक्रम, बजेट सबै पास गरिदिएको साथै नेपालको नक्शाको विषयमा संविधान संशोधन समेत गरिदिएको अवस्थामा प्रधानमन्त्री ओलीको संसदसँग विश्वास कायम रहेको बताए। यसर्थ संसद विघटन प्रधानमन्त्रीको अधिकार नभएको उहाँको भनाइ छ। संसद पुनर्स्थापनाका आधारहरू स्पष्ट रहेको उनले बताए।
संविधानसभा सदस्य खिमलाल देवकोटाले नेपालको संविधानमा बलियो प्रधानमन्त्रीले नभई कमजोर प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने व्यवस्था रहेको बताउँदै प्रधानमन्त्री ओलीलाई संसद विघटनको कुनै अधिकार नभएको बताए। संसद विघटनको पक्षमा केवल प्रधानमन्त्री एक्लै रहेको उनको तर्क छ।
५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै नेपालका राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीहरूले विरोधका कार्यक्रम गर्दै आएका छन्। सत्तारूढ नेकपा दुई भागमा विभाजित भएको छ।