कान्तिपुर डेन्टल कलेजका शिक्षकहरू आन्दोलनमा, पठनपाठन र बहिरंग सेवा ठप्प
काठमाडौंको बसुन्धारास्थित् कान्तिपुर डेन्टल कलेज शिक्षक (फ्याकल्टी)हरू १७ दिनदेखि आन्दोलनमा उत्रिएका कारण त्यहाँको पठनपाठन ठप्प भएको छ। कलेजले सहमति जनाए अनुसार तलब तथा सुविधा नदिएपछि कान्तिपुर डेन्टलका शिक्षकहरूले १३ पुसदेखि पठनपाठन रोकेर आन्दोलनमा उत्रिएका हुन्।
उनीहरूले १४ पुसदेखि बहिरंग सेवा समेत बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। कान्तिपुरका फ्याकल्टीहरूका अनुसार कलेजले गएको वैशाखदेखि पुससम्मको पूरा तलब दिएको छैन। कान्तिपुर डेन्टल कलेजका एसोसियट प्रोफेसर डा. सेन्छेमा लिम्बुले कलेजले भौतिक रूपमा उपस्थित भएको आधारमा भदौ, असोज, कात्तिक र मंसीर महीनाको ज्यालादारी अनुसार रकम दिएको बताइन्।
उनले कोरोना महामारीको समयमा रातदिन खटेर काम गर्दा पनि कलेजले न्यूनतम तलब समेत नदिएको बताउँछिन्।
“कोरोना कारण हामीले विद्यार्थीलाई घरमै बसेर पढायौँ, तर कलेजले घरमा बसेर पढाएको आधारमा हामीलाई तलब सुविधा दिएन,” उनले भनिन्, “कलेजले हामीलाई घरमा बसेर पढाए पनि आधारभूत तलब दिने विषयमा मौखिक सहमति जनाएको थियो।”
कलेजले विद्यार्थीबाट पूरा रकम अशुल्ने तर, आफूहरूलाई न्यूनतम तलब समेत नदिने काम आपत्तिजनक भएको उनले बताइन्। कलेजमा आन्दोलन शुरू भएपछि कान्तिपुरले जाडो बिदा भन्दै पठनपाठन रोकेको छ। अहिले अनलाइनबाट पनि क्लिनिकल विषयको पढाइ रोकिएको त्यहाँ कार्यरत शिक्षकहरू बताउँछन्।
कलेजमा करीब २४ जना फ्याकल्टी मेम्बर कार्यरत छन्। उनीहरूले त्यहाँ डेन्टल (वीडीएस) विषयमा अध्ययनरत विधार्थीलाई पढाउने र अस्पतालमा भर्ना भएका बिरामी जाँच्ने काम गर्छन्। कान्तिपुर डेन्टल कलेजले मुलुकमा कोराना संक्रमण उच्च भएका बेला संक्रमित बिरामीको समेत उपचार गरेको थियो।
त्यसक्रममा कलेजका फ्याकल्टीहरू संक्रमित बिरामीको उपचारमा खटेका थिए। उपचार गर्दै त्यहाँ कार्यरत चिकित्सकहरू संक्रमित पनि भएका थिए। संक्रमित भएका चिकित्सकलाई समेत कलेजले आधारभूत सेवा/सुविधा नदिएको एक फ्याकल्टीले बताए।
यसैबीच, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजको फ्याकल्टी काउन्सिलले २९ पुसमा विज्ञप्ति जारी गर्दै त्यहाँ कार्यरत शिक्षकहरूलाई तलब सुविधा नदिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आन्दोलनका कारण कलेजको शैक्षिक कार्यक्रम ठप्प बनेपछि कलेज प्रशासनले २७ पुसमा सूचना जारी गर्दै शैक्षिक गतिविधि र क्लिनिकल सेवामा नियमित रूपमा संलग्न नभएका शिक्षकहरूलाई बन्द गर्नुको कारणसहित तीन दिनभित्र उपस्थित हुन भनेको छ।
कलेजले सूचनामार्फत् कोरोनाका कारण अन्य रोगका बिरामी उपचार गर्ने क्रम घटेको, अस्पतालको आम्दानी न्यून रहेको लगायतका कारणले भदौ, असोज, कात्तिक र मंसीर महीनाको पूरै पारिश्रमिक दिन समस्या परेको दाबी गरेको छ।
कान्तिपुर डेन्टल कलेजले तीन दिनभित्र उपस्थित नभए जागिरबाट निकाल्ने धम्की दिएको छ। यसअघि वीर अस्पताल स्वास्थ्यकर्मीहरू तलब सुविधा, जोखिम भत्ता समयमा उपलब्ध गराउनु पर्ने लगायतको माग राखेर एक महीनाभन्दा बढी समय आन्दोलनमा उत्रिएका थिए।
एम्नेष्टी इन्टरनेशनलले गएको असार महीनामा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले कोरोना महामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीहरूले गिरफ्तारीदेखि धम्की र निष्कासनसम्मका प्रतिरोधहरू सामना गर्नु परेको देखाएको थियो।