कोरोनाको खोप ल्याउने रकम खोज्दै सरकार, खोप कोषमा सहयोग गर्न सार्वजनिक आव्हान
कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ शुरू गरेर कोषमा बुधबारसम्ममा रू. २ अर्ब ८९ करोड संकलन गरेको सरकारले फेरि खोप ल्याउन खोष खडा गरेको छ। कोषका लागि सहयोग गर्न आम सर्वसाधारणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थासम्मलाई आव्हान गरेको छ।
कोरोना कोषबाट सरकारले रू. २ खर्ब ४४ करोड निकासाको लागि महालेखा नियन्त्रण कार्यालयलाई सिफारिश गरिसकेको छ भने अब कोषमा बाँकी रकम रू. ३५ करोड मात्रै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता शंकर नेपालले बताए।
उनका अनुसार सरकारले कोभिड कोषबाट खर्च गर्ने निर्णय गरेर निकासा गर्न सिफारिश भएपछि उक्त रकम खर्चको प्रक्रियामा रहेको र खर्च भइरहेको हुनसक्ने पनि बताए।
कोरोना कोषमा रहेको रकम एउटा प्रयोजनाको लागि संकलन गरिएको र फेरि अर्को प्रयोजनका लागि स्वस्थ्य मन्त्रालयले नयाँ खोप कोष खडा गरेर आवश्यक रकम जोहो गर्न लागेको हो।
कोभिड–१९ खोप ल्याउन आवश्यक रकम खोज्ने क्रममा जनस्तरबाटै सहयोगको आव्हान गरिएको छ। सरकारले कोभिड खोप ल्याउन आवश्यक रकम जोहो गर्न खोप कोष स्थापना गरेरै सार्वजनिक आवव्हान गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले कोषमा योगदान गर्न सार्वजनिक सूचना आव्हान गरेको छ। बुधबार सार्वजनिक सूचाना जारी गरेरै खोप कोषमा रकम जम्मा गरेर सहयोग गर्न विभागले आव्हान गरेको हो।
विभागले कोष तथा लेखा नियन्त्रण कार्यालयको त्रिपुरेश्वर कार्यालयमा खोप कोष स्थापना गरेर कोभिड खोप खाता सञ्चालनमा ल्याएको छ। राष्ट्रिय वाणिज्य ब्यांकको टेकु कार्यालयमा उक्त खाता सञ्चालन गरेर आम नागरिकसँग कोषमा योगादान गर्न आग्रह गरिएको छ।
सरकाले खोप ल्याएर लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउने तयारी गरेकोले सो खोप ल्याउन आवश्यक रकमको जोहो गर्न पनि सहयोग आव्हान गरिएको सूचानामा उल्लेख छ।
सरकारले २४ कात्तिक २०७७ को निर्णयबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरीद गर्न र निःशुल्क वितरण गर्न ठूलो रकम आवश्यक पर्ने उल्लेख गरेको छ।
यस्तो रकमको जोहोका लागि दातृ निकाय, विदेशी, विभिन्न व्यावसायिक एवम् सामाजिक र परोपकारी संस्था तथा फिलान्थ्रोपिक एशोसिएसनलाई खोप कोषमा योगदान गर्न सरकारले आग्रह गरेको छ।