भारतसँग दीर्घकालीन मुद्दामा समझदारी नगर्न नागरिक अगुवाको ध्यानाकर्षण
नेपाल सरकारका पूर्वमुख्यसचिवसहित १५ नागरिक अगुवाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा राष्ट्रिय सरोकारका गम्भीर मामिलामा समझदारी नगर्न सरकारको ध्यानाकर्षण गरेका छन्।
चुनाव घोषणापछि सरकार कामचलाउ भइसकेको हुँदा सरकारले दीर्घकालीन सरोकारका मुद्दामा भारतसँग समझदारी गर्न नहुने उनीहरूको तर्क छ।
बुधबार विज्ञप्ति निकालेर उनीहरूले बृहत्तर राष्ट्रिय सहमतिबिना कुनै पनि राष्ट्रिय सरोकारका मामिलामा सहमति जनाउने वा समझदारी गर्ने वा त्यसप्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्नेजस्ता कामकारबाही नगर्नका लागि अनुरोध गरेका छन्।
विज्ञप्ति निकाल्नेमा नेपाल राष्ट्र ब्यांकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वमुख्यसचिवद्धय लिलामणि पौड्याल र डा. सोमलाल सुवेदी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वसचिव शारदाप्रसाद त्रिताल, युवराज पाण्डे, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, लेखक निनु चापागाई, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य लगायत छन्।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रीले नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन माघ १ देखि ३ गते सम्म भारतको भ्रमण गर्ने उल्लेख गरेको छ।