व्यवसायमा कोरोना कहर : ५४ प्रतिशत उद्योग मात्रै पूर्ण सञ्चालनमा
कोरोनाभाइरस महामारीका कारण अझै पनि देशका झण्डै नौ प्रतिशत उद्योग सञ्चालनमा आउन नसकेको नेपाल राष्ट्र ब्यांकको अध्ययनले देखाएको छ।
केन्द्रीय ब्यांकले गरेको सर्वेक्षणका अनुसार, कोभिड-१९ अगाडिका तुलनामा मंसीरमा देशका करीब ५४ प्रतिशत उद्योग मात्रै पूर्णरुपमा सञ्चालनमा आएका छन्। करीब ३७ प्रतिशत उद्योग आंशिक मात्रै सञ्चालनमा छन्।
गत असारमा ४ प्रतिशत मात्र उद्योग/व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको देखिएको छ। यद्यपि, मंसीर यता कोभिड-१९ नियन्त्रणका मापदण्डहरु खुकुलो हुँदैसँगै बन्द रहेका उद्योग व्यवसाय पनि सञ्चालनमा आएको अनुमान छ।
राष्ट्र ब्यांकका अनुसार कोभिड–१९ अगाडिका तुलनामा गत असारमा करीब २९ प्रतिशत मात्र रहेको उद्योग तथा व्यवसायको उत्पादन/कारोबार स्थिति मंसीरमा करीब ५० प्रतिशत पुगेको छ। यसबीचमा रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत पुगेको छ। अर्थात, गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको भेटिएको छ।
कोभिड-१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र ब्यांकले गत असारमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीसँग गरेको सर्वेक्षणले बन्दाबन्दी पश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसाय संचालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा संचालनमा भएको देखाएको थियो।
पछिल्लो समयमा सरकारले कोभिड-१९ नियन्त्रणका मापदण्डहरु खुकुलो बनाउँदै लगेका कारण व्यवसायहरु क्रमिक रुपमा संचालनमा आइरहेका छन्। व्यवसाय संचालन सम्वन्धी पछिल्लो वस्तुस्थिति बारे अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न गत मंसीरमा ब्यांकले फेरि पुनरावृत्ति सर्वेक्षण गरेको थियो।
गत मंसीरमा सबैभन्दा धेरै विद्युत, ग्याँस र पानीसँग सम्बन्धित दुई तिहाई उद्योग सञ्चालनमा आएका छन् भने रेस्टुरेन्टहरुमध्ये करीब ३० प्रतिशत मात्रै सञ्चालनमा छन्। शिक्षा सम्बन्धित व्यवसायमध्ये करीब १२ प्रतिशत सञ्चालनमा रहेको देखिएको छ।
अध्ययनअनुसार ठूला उद्योगमध्ये तीन चौथाई पूर्ण रुपमा सञ्चालनमा आएको देखिएको छ। घरेलु, साना, मझौला आकारका उद्योगमध्ये आधा भन्दा थोरै मात्र पूर्ण रुपमा सञ्चालनमा छन्। कोभिडका कारण सबैभन्दा धेरै मार होटल तथा रेस्टुरेन्टलाई परेको छ। कोभिड अगाडिका तुलनामा होटल तथा रेस्टुरेन्टको कारोबार करीब १८ प्रतिशत मात्रै छ। सबैभन्दा धेरै विद्युत, ग्याँस, पानीको कारोबार ९२ प्रतिशत पुगेको छ।