ओलीलाई अधिनायकवादी चरित्र नदेखाउन दाहाल–नेपालको चेतावनी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पछिल्लो समय ओलीले अधिनायकवादी र निरंकुश चरित्र प्रदर्शन गरेको भन्दै त्यसलाई तत्काल रोक्न चेतवानी दिने निर्णय गरेको हो।
चार जना पूर्वप्रधानन्यायाधीशले प्रतिनिधि सभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमानित र धम्क्याएको भन्दै बैठकले प्रतिवाद गर्दै भत्र्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
“मुख्यतः चार जना पूर्वप्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले देश, जनता, लोकतन्त्र, संविधान राजनीतिक स्थिरता र सुशासनप्रतिको निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा प्रतिनिधि सभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै वक्तव्य दिनुभएकोमा उहाँहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित गर्ने र धम्क्याउने काम गर्नुभएको छ। यो कार्य आपत्तिजनक छ र बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा र्भत्सना गरेको छ”, प्रवक्ता श्रेष्ठले भने।
श्रेष्ठले पूर्वप्रधानन्यायाधीशहरू र देशभरीका नागरिक समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, इन्जिनियर, चिकित्सक, पत्रकार, लेखक, कलाकार, सांस्कृतिककर्मी, विभिन्न पक्ष तह र तप्काका नागरिकले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमका विरुद्ध आफ्नो विचार प्रकट गरिराखेको बताए।
“सबै नागरिकको स्वतन्त्रता र संवैधानिक अधिकारको सम्मान गरिनुपर्छ, रक्षा गरिनुपर्छ। हामी संवैधानिक अधिकार र स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध छौँ। सबै नागरिक समाज प्रबुद्ध व्यक्तिलाई एकजुट हुन र संवैधानिक अधिकार र अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्न आव्हान गर्ने बैठकले निर्णय गरेको छ”, प्रवक्ता श्रेष्ठले भने।
बैठकले सरकारी सञ्चार माध्यमहरू कुनै गुटको प्रचारक जस्तो काम गरेको भन्दै राज्यको स्रोत साधन दुरूपयोग गर्दै गुटलाई सेवा गर्ने काम बन्द गर्न माग गरेको उनले बताए।
बैठकले पार्टीको सम्पूर्ण निकायलाई पार्टीको सुदृढीरणमा लाग्न र संघर्षका कार्यक्रमलाई प्रभावकारी रूपमा सफल पार्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए।
सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएकोमा आफूहरूको विरोध रहेको पनि बताए।
प्रतिनिधि सभा विघटनपछिको प्रधानमन्त्री ओलीको पहिलो सम्बोधनलाई अस्वीकार गर्दै राष्ट्रिय सभाको आइतबारको बैठकमा सहभागी नभएको पनि उनको भनाइ छ।