प्रधानमन्त्रीको दाबी : ‘मलाई कसैले हटाउन सकेन, यही हो स्थिरता र स्थायित्व’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चाहेर पनि कसैले हटाउन नसक्नुलाई स्थिरता र स्थायित्व भनेका छन्।
आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको राजनीतिक स्थिरता र स्थायित्वका लागि आफूले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा गएको जिकिर पनि गरे। उनले निर्वाचन हुनु भने अस्थिरता नभएको दाबी गरे।
उनले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो कदम संवैधानिक कदम भएको दाबी दोहोर्याए।
“चुनाव हुनु अस्थिरता होइन, अस्थिरता संविधानको कार्यान्वयन सही ढंगले हुनु नहुनु हो। अस्थिरता त्यत्तिबेला हुन्छ, बाह्य शक्तिको इसारामा, बाह्य शक्तिको स्वार्थमा जब देशका शक्तिहरू गोटी बन्न थाल्छन् र राष्ट्रिय राजनीतिलाई अस्थिरतातर्फ, अस्वस्थतातर्फ धकेल्न थाल्छन्”, ओलीले भने, “हो, त्यस्तो स्थिति स्थिरता र स्थायित्वको स्थिति होइन। अहिले स्थिरताको स्थिति हो। कसैले पनि प्रधानमन्त्री हटाउन सकेन। चाहेर पनि हटाउन सकेन। यो स्थिरता र स्थायित्वको स्थिति हो।”
प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक अस्थायित्व र अस्थिरता चाहनेहहरूले आफूलाई हटाउन खोजेर पनि नसकेको दाबी गरे। तर, जनताले दिएको जिम्मेवारी र नेकपाको अध्यक्ष पद दुवै नछोड्ने ओलीले दोहोर्याए।
“किन छोड्ने ? कसलाई छोड्ने ? यो दान हो र ? कमण्डलु थाप्ने बित्तिकै लौ भनेर दिने ? यो मोहर सिक्का हो प्रधानमन्त्रीको जिम्मेवारी भनेको ? यो जनताले सुम्पेको अभिभारा हो , जुनसुकैलाई, जस्तोसुकैलाई, जुनसुकै अवस्थामा दिन सकिदैन”, ओलीले भने।
उनले संविधानले ५ वर्षमा चुना गर्नुलाई मात्र स्थिरता नभनेको दाबी समेत गरे।
“वास्तविक स्थायित्व के हो ? संविधानले स्थिरता ५ वर्षमा चुनाव गर्नेलाई मात्रै भनेको छैन। सरकार बन्न सकेन भने तत्काल चुनावमा जाने व्यवस्था गरेको छ, संविधानको धारा ७६ को ७ ले। अल्पमतकोले पनि, पार्टी विनाको पनि हुन सक्छ”, ओलीले थपे, “एउटा व्यक्ति, सांसदले दलको नेताले होइन, व्यक्ति सांसदले पनि यदि विश्वासको मत प्राप्त गर्न सकेन भने उसको सिफारिसमा राट्रपतिद्वारा संसद विघटन हुन्छ र प्रतिनिधि सभा निर्वाचनका लागि मिति तोकिन्छ।”