एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’
एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरू कुनै पनि समय जहाँ भएपनि सजिलै अडियोमार्फत् अध्ययन गर्न सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ शुरू गरेको छ। जसअन्तर्गत विद्यार्थीले मोबाइलमार्फत् पाठ्यक्रममा आधारित पाठहरू मोबाइलबाटै सुन्दै सिक्न सक्छन्।
इन्टरएक्टिभ भोइस रेस्पोन्स (आईभीआर)मा आधारित यस सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत ल्याएको जनाएको छ। यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको उल्लेख छ।
पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत् फोनकै प्रयोग गरी आईभीआरबाट सिक्न सकिने भएकोले सिकाईको अनुभवलाई परिभाषित गर्ने यो सेवा आफ्ना ग्राहकका लागि ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ।
पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रम उपलब्ध छन्। कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्घ रूपमा अरु कक्षाहरूको लागि थप पाठ्यक्रमहरू समावेश गरिने एनसेलले जनाएको छ।
विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरू अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामग्री तथा पाठहरूमा सहजै पहुँच प्राप्त गर्न सक्छन्। ग्राहकले १७१४४ डायल गरी प्राप्त निर्देशन अनुरूप अडियो क्लास सेवामा भाग लिने पाउनेछन्।
इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरू एसएमएस, युएसएसडी तथा वेब च्यानलमार्फत् पनि लिन सक्नेछन्।
अडियो क्लासको लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्पहरू रहेका छन्। ३ दिनको प्याकमा विद्यार्थीले करसहित रू. ७ मा ५० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन्। ७ दिनको प्याकमा करसहित रू. १४ मा १०० मिनेटको अडियो क्लासको सेवाबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ।