इन्डोनेशियामा यात्रुवाहक विमान बेपत्ता, प्रत्यक्षदर्शी भन्छन्- बिजुली गतिमा समुद्रमा खस्यो
इन्डोनेशियाको राजधानी जाकार्ताबाट उडेको केही समयमा नै ६२ यात्रु बोकेको विमान शनिबार दिउँसोदेखि वेपत्ता भएको छ। विमान उडेको चार मिनेटमा नै समुद्रमा खसेको थियो।
श्रीविजया एयरको बोइङ ७३७ विमान जाकार्ताबाट पश्चिम कलिमनतन प्रान्ततर्फ जाँदै गर्दा सम्पर्क टुटेको इन्डोनेशियाका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। प्रत्यक्षदर्शीले विष्फोटको आवाज सुनेको बताएका छन्।
बीबीसीका अनुसार एउटा माछा मार्ने पानीजहाजका सोलिहिन भन्ने व्यक्तिले दुर्घटना भइरहेको देखेको र त्यसपछि आफ्नो क्याप्टेनले टापुतर्फ फर्किजाने फैसला गरेको बताएका छन्। उनले भनेका छन्, “विमान बिजुली गतिमा समुद्रमा झरेर पानीमै विष्फोट भयो। हामी यति नजिक थियौँ कि केही टुक्रा हाम्रो जहाजमा ठोक्किएका थिए।”
घटनास्थलको नजिक टापुमा रहेको बासिन्दाले पनि आफूहरुले केही त्यस्तो वस्तु भेटेको जुन विमानको टुक्रा भएको हुनसक्ने बताएका छन्। त्यसैले विमान समुद्रमा खसेको विश्वास गरिएको छ। इन्डोनेशियाका जलसेनालाई विमान पत्ता लगाउनका लागि तैनाथ गरिएको छ।
फ्लाइट ट्रयाकिङ वेबसाइट फ्लाइटरडार ट्वान्टीफोरका अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिटभन्दा तल आएको थियो। त्यहाँको यातायात मन्त्रालयले विमान पत्ता लगाउन तथा उद्दार गर्न विभिन्न १० वटा पानीजहाज खटाइसकेको जनाएको छ।
इन्डोनेशियामा कयौँ पुराना विमानले उडान भर्ने गरेको बताइएको छ। शनिबार बेपत्ता भएको विमान २६ वर्ष पुरानो थियो। सुरक्षित उडानको मामलामा इन्डोनेशियाको तथ्यांक राम्रो छैन। अझै पनि त्यहाँ १९८० र ९० को दशकमा बनेका कयौँ विमान प्रयोगमा छन्।