त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको २४ पुस (शुक्रबारको) महानिर्देशकस्तरीय निर्णयले तिवारीलाई महाप्रबन्धकमा नियुक्त गरेको हो।
यसअघि देवेन्द्र केसी ३ मंसीरमा उमेरहदका कारण अनिवार्य अवकासमा गएपछि रिक्त रहेको विमानस्थलको महाप्रबन्धकमा तिवारी नियुक्त भएका छन्। तिवारीले शुक्रबार नै महाप्रबन्धक नियुक्तिको पत्र बुझिसकेको भएपनि औपचारिक रूपमा पदभार भने आइतबारदेखि मात्रै लिने भएका छन्।
विमानस्थलमा समयानुकुल उपयुक्त प्रविधि जडान गरेर यात्रु सेवा दिने कामलाई प्राथमिकता दिने नवनियुक्त महाप्रबन्धक तिवारी बताउँछन्।
कोभिडको जोखिम करीब दुई वर्ष रहने अनुमान गरिएको र सोही अनुसार विमानस्थलमा समयानुकुल उपयुक्त प्रविधि जडान गरेर यात्रु सेवा दिने कामलाई प्राथमिकता दिने नवनियुक्त महाप्रवन्धक तिवारी बताउँछन्।
तिवारीले कोभिड महामारीपछिको सामान्य स्थितिमा हुने हवाई यात्रुको चाप धान्ने गरी अहिलेदेखि नै विमानस्थलको क्षमता विस्तार तथा सुदृढीकरणमा लाग्ने पनि बताए।
हवाई यात्रुको सेवा र सुविधाको लागि काम गर्ने र विमानस्थलबाट दिइने सेवालाई चुस्त दुरुस्त बनाउने आफूले काम गर्ने पनि बताएका छन्। त्रिभुवन विमानस्थलको सुधारका लागि दुई वर्षको रणनीति बनाएर काम गर्ने र उपयुक्त प्रविधिको प्रयोग गर्ने पनि तिवारी बताउँछन्।
विमानस्थलमा स्वास्थ्य सेवाको स्तरोन्नती, स्तरीय यात्रु सेवा तथा सूचना प्रदान, विमानस्थलको क्षमता विस्तार, विमानस्थलको स्तरीकरण, सुरक्षा मापदण्डको परिचालन, व्यवस्थापन कार्यमा सुधारसहितका काम गर्न सकिने पनि तिवारीले बताएका छन्।