दाहाल–नेपाल समूहले प्रधानमन्त्रीलाई पठायो संविधान
प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ।
दाहाल–नेपाल समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान-२०७२ पठाएको हो।
काठामाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठायो।
नेकपा काठमाडौं जिल्ला कमिटीका इन्चार्ज सावित्रा भूसालले केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताइन्।
संविधानको पुस्तक पठाउन नेताहरू प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा संघर्ष गरौं लेखिएको ब्यानरसहित काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेका थिए।