वामदेवले भने- ‘प्रधानमन्त्री ओलीले राजीनामा दिएको भए राम्रो हुन्थ्यो’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन राजीनामा दिएको भए राम्रो हुने बताएका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै गौतमले पार्टीका नेताहरूले आफूविरुद्ध अविश्वासको प्रस्ताव लग्दैछन् भन्ने थाहा पाएपछि संसद विघटन गर्नु भन्दा प्रधानमन्त्री ओलीले राजीनामा दिएको भए राम्रो हुने बताए।
मिहिनेत गरेर निर्माण गरेर बनाएको पार्टी जोगाउनका लागि अविश्वासको प्रस्ताव दर्ता हुनु भन्दा पहिला नै राजीनामा दिएको भए पार्टी पनि जोगिने र इतिहासमा उदाहरण समेत प्रस्तुत हुने गौतमको टिप्पणी छ।
“अत्यन्त कठिन परिस्थितिमा हामी एकठाउँमा छौं। तर, उहाँले सोध्नुभएन। मलाई थाहा थिएन। मैले उहाँलाई सल्लाह दिएको थिएँ, पार्टीमा जब अल्पमतमा पर्छन् नेताहरू प्रधनमन्त्री नै भएपनि राजीनामा दिनुपर्छ”, उनले भने, “पार्टी जोगाउनको निम्ति अन्तिमपटक पनि उहाँको निम्ति त्यो अवसर थियो। म भएको भए त्यो अविश्वासको प्रस्ताव दर्ता गर्नुभन्दा पहिले नै राजीनामा दिन्थेँ। त्यसले मैले मिहिनेत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो र एउटा उदाहरण प्रस्तुत हुन्थ्यो नेपालको इतिहासमा।”
नेता गौतमले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आफूले असंवैधानिक कदम भनेको पनि बताए। तर, अहिले सार्वोच्च अदालतमा परेका रिटहरू संवैधानिक इजलासमा लगिएपछि असंवैधानिक भन्न नमिल्ने उनको भनाइ छ।
यो विषयमा बोल्न पाउने मौलिक अधिकार भएपनि अदालतामा विचाराधीन विषयमा असंवैधानिक भन्यो भने अदालतको राजनीतिक रूपमा अपमान हुने बताए।
“सर्वोच्च अदालतमा परेका जतिपनि रिटहरू छन् ती रिटहरू संवैधानिक इजलासमा लगिएपछि असंवैधानिक हुन् भन्न मिल्दैन। त्यसैले म चुप लागेको छु। अब संविधान विरुद्धमा छ, असंवैधानिक छ भन्यो भने सर्वोच्च अदालतको राजनीतिक रूपमा अपमान हुन्छ”, गौतमले भने।