प्रतिनिधि सभा पुनर्स्थापना गर्न सम्भव छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना गर्न सम्भव नभएको बताएका छन्। उनले ६४ प्रतिशत समर्थन रहेको दलको नेताले सरकार चलाउन्नँ, ताजा जनादेश चाहियो भनेर निर्वाचन घोषणा गरिसकेपछि प्रतिनिधि सभा पुनर्स्थापना हुनै नसक्ने बताएका हुन्।
शनिबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुमत प्राप्त सरकार प्रमुखलाई संसद विघटन गर्ने अधिकार संविधानले दिएको समेत दाबी गरे।
उनले संसद भित्रको प्रतिगमनलाई रोक्न प्रतिनिधि सभा विघटन गरेर स्टेयरिङ्ग सोझ्याएको बताए। दाहाल–माधव पक्षले प्रतिगमनकारी क्रियाकलाप गरि प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोक्न प्रतिनिधि सभा विघटन गरेको दाबी गरे।
“उहाँहरू खास प्रतिगमनको तयारी गरिरहनु भएको थियो। हामीले प्रतिगमन रोक्नु थियो। त्यसलाई ब्रेक लगाउनु थियो। आन्दोलनलाई भीरबाट तल खसाल्न खोज्नु भएको थियो, त्यसलाई रोक्नु थियो। हामीले स्टेयरिङ्ग सोझ्याउनु थियो। सोझ्याएका हौं”, प्रधानमन्त्री ओलीले भने।
प्रधानमत्री ओलीले पार्टीलाई प्राप्त भएको दुई तिहाइको सरकार ढाल्ने, पार्टीको एकता भताभुङ्ग पार्ने र विभिन्न रंगीविरंगी तत्वहरू जोडेर सरकार बनाउने प्रयासमा दाहाल–नेपाल पक्ष लागेको आरोप लगाए।
देशमा जनताको इच्छा अनुसारको काम गर्ने र जनतालाई माया गर्ने सरकार चाहिएको हुनाले संसद विघटन गरिएको पनि उनले बताए। प्रधानमन्त्री ओलीले सभामुखले तीनवटा अधिवेशन अगाडि सरकारले राखेका प्रस्ताव प्रस्तुत नगरिदिएको र तीन वर्षदेखिका विधेयक समितिमा अड्काउने काम गरेको टिप्पणी गरे।
“संसदमा सरकारले निर्णयका लागि पेश गरेका प्रस्तावहरू प्रस्तुत हुँदैनन्। तीनवटा अधिवेशन भए, तीनवटा अधिवेशन अगाडि सरकारले राखेका प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदैनन। तीन वर्ष अगाडिदेखि प्रस्तुत गरेका विधेयक समितिमा लगेर अल्झाइदिएको छ”, प्रधानमन्त्रीले भने, “किनभने सरकारलाई असफल देखाउन। त्यसप्रकारको स्थितिबाट देशलाई अगाडि बढाउनका लागि, लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउनका लागि, अस्वस्थ षडयन्त्रको चक्रव्यूहमा देशलाई फस्न नदिनका लागि प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणा गर्नुपरेको हो।”