संसद विघटनविरुद्ध दाहाल–नेपाल समूहको आमसभा
प्रतिनिधिसभाको विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल तथा माधव नेपाल समूहले काठमाडौँमा विरोध प्रदर्शन तथा आमसभा गरेको छ।
काठमाडौँका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमन्डपमा पुगेपछि अहिले त्यहाँ आमसभा चलिरहेको छ। आमसभामा शीर्ष नेताले बोल्नेछन्।
उक्त आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टीका नीति बिर्सिएर एकलौटी ढंगले सरकार चलाएको आरोप लगाए। तीन वर्ष काम नगरी गफ मात्र गरेर बिताएको पनि खनालले बताए। उनले भने, “कहिले पानीजहाज ल्याउने गफ हाँक्नुभयो, कहिले घरघरमा ग्यास ल्याउने भन्नुभयो। यो तीन वर्ष खेर गयो।”
सभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली निरंकुश बनेको आरोप लगाए। अहिले उनी बोलिरहेका छन्। उनीपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नेछन्।