पार्टी विभाजनपछि के होला तत्कालीन नेकपा एमालेको सम्पत्ति?
नेकपा विभाजित हुँदा पूर्वमाओवादी नभई पूर्वएमाले मात्र छुट्टिएको राजनीतिशास्त्रका जानकारहरु बताउँछन्। त्यहीकारण दुवै समूहका पूर्वएमाले नेताहरु चुनाव चिन्ह सूर्यको मात्र नभई तत्कालीन एमालेको सम्पूर्ण सम्पत्तिमा दाबी गरिरहेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा फुट आएसँगै तत्कालीन एमालेका माधव नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायत शीर्ष नेताहरु नेकपाको एक समूहका अध्यक्ष पुष्पकमल दाहालसँग छन्। नेकपाको अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। पार्टीको नाम र सूर्य चिन्ह कुन समूहले पाउने भन्ने निर्वाचन आयोगले निर्णय दिइसकेको छैन। तर, तत्कालीन एमालेको भौतिक सम्पत्ति तथा २०४८ सालदेखि एमालेले लिएको चुनाव चिन्ह सूर्यमा दुवै पक्षको दाबी छ।
केही दिनअघि दाहाल–नेपाल समूहले बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नाममा रहेको सम्पत्तिमा आफूहरुको हक लाग्ने दाबी गरे। यता ओली समूहले भने धुम्बाराहीस्थित पार्टी कार्यालयमा ताला लगाएको छ।
ओली समूहलले कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको कार्यालय आफूले दाबी नगर्ने र धुम्बाराही कार्यालय प्रयोग गर्न नदिने जनाइसकेको छ। यसैबीच कतिपय जिल्लामा पार्टी कार्यालय कब्जाको प्रयासमा झडपसमेत भएको छ। पूर्वमाओवादीको सम्पत्तिमा ओली समूहले दाबी नगरेका कारण विवाद नभए पनि पूर्व एमालेको सम्पत्तिमा विवाद शुरु भइसकेको छ।
सम्पत्तिको विवादको टुङ्गो पनि निर्वाचन आयोगले दिने आधिकारिक मान्यतामा भर पर्छ। नेकपाको केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालका अनुसार तत्कालीन एमाले र माओवादी एकीकरण भए पनि सम्पत्ति र कार्यालय एकीकरण भएका थिएनन्। दुई पार्टीका खाता सञ्चालन, कार्यालय तथा संसदीय दलका कार्यालय पनि ‘मर्ज’ भएको थिएन। छुट्टाछुट्टै रुपमा नै सञ्चालित थिए।
“कार्यालय, खाता, सम्पत्ति, संगठित सदस्यता मर्ज भएको थिएन। सामान्य संगठनात्मक एकीकरण मात्र भएको थियो। हामी त एकताको प्रक्रियामा नै थियौं”, रिजाल भन्छन्, “गन्तव्य आउन बाँकी हुँदै बाटो अलग भयो, गन्तव्यमा हिँड्नुअघि जोसँग जे खर्च र सातु–चामल बोकेर हिँडेका थिए त्यो आ–आफ्नै हुन्छ।”
कति छ तत्कालीन एमालेको सम्पत्ति ?
तत्कालीन एमालेको पार्टी एकीकरण हुनुअघि संगठन मात्र होइन, पार्टी कार्यालयदेखि सबै संरचना व्यवस्थित थिए। केन्द्रीय कार्यालय सचिव रिजालका अनुसार पार्टीका ५६ भन्दा बढी जिल्ला कमिटिका आफ्नै भवन थिए।
त्यसबाहेक नगर कमिटी र अञ्चल कमिटीका समेत भवन थिए। सबै जोड्दा ७५ भन्दा बढी स्थानमा पार्टीका नाममा भवन थिए। केही जिल्लाहरु भवन निर्माणको प्रक्रियामै थिए।
यता काठमाडौंको बल्खुस्थित केन्द्रीय कार्यालय झण्डै नौ रोपनी जग्गामा थियो। २०७२ सालको भूकम्पले कार्यालय भवन भत्किएपछि नयाँ भवन बनेको छैन। अहिले उक्त जग्गामा दुवै पक्षले दाबी गरिरहेका छन्।
पार्टी एकीकरणअघि तत्कालीन एमालेले आफ्ना संगठित सदस्यबाट वार्षिक सदस्यता शुल्क रु.३०० र कमिटीले तोकेको लेबी न्यूनतम प्रतिमहिना रु.१० गरी एक जनाबाट पार्षिक रु.५०० उठाउँथ्यो। दुई पार्टी एकीकरणपछि संगठित सदस्यता एकीकरण नहुँदा र त्यससम्बन्धी विवाद नमिल्दा स्थानीयस्तरमा पार्टी कमिटी निस्कृय हुनुका साथै लेबी संकलनसमेत रोकिएको थियो।
नेकपाका केन्द्रीय कार्यालयका सचिव रिजालका अनुसार एमालेका संगठित सदस्य सख्या झण्डै ७ लाख छ। अब ती सदस्य पनि विभाजित भएका छन्।