नेकपाका दुवै समूहका अध्यक्षसँग चिनियाँ टोलीको बेग्लाबेग्लै भेटवार्ता

नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको टोलीले नेकपाका दुवै समूहका अध्यक्षसँग बेग्लाबेग्लै भेटवार्ता गरेको छ।
चिनियाँ टोलीले आज बिहान नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग करीब डेढ घण्टा भेटवार्ता गरेको छ। करीब ८ः४५ मा खुमलटार पुगेको टोली सवा १० बजे मात्र निस्किएको थियो।
त्यसपछि अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न बानेश्वर पुगेको थियो। नेपालसँग बानेश्वरस्थित एक होटेलमा टोलीले भेट गरिरहेको छ।
टोलीले हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो। काठमाडौँ उत्रिएको केही बेरपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेको टोलीले त्यसपछि बालुवाटार गएर प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको थियो।
चिनियाँ टोलीले करीब दुई घन्टा प्रधानमन्त्रीसँग कुराकानी गरेको थियो। त्यसक्रममा चीनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा आएको विभाजनबारे चासो राखेको थियो।
चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेकपा विभाजनतर्फ अग्रसर नेताहरुलाई राष्ट्रपति सी चीनफिङको सन्देश सुनाएको बताइएको छ। चार दिने नेपाल भ्रमणमा आएको टोलीले पूर्वप्रधानमन्त्री तथा अर्का नेकपा नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेट गर्ने कार्यक्रम छ।