गस्तीमा गएका दुई प्रहरीको हत्याका मुख्य योजनाकार आरोपी पक्राउ
कैलालीको धनगढीमा डेढ महीनाअघि गस्तीमा गएका बेला दुई प्रहरीको हत्याका मुख्य योजनाकार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर धनगढी उपमहानगरपालिका वडा नं. १० का ३४ वर्षीय सुक बहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको हो। गएको १ कात्तिकमा नियमित गस्तीमा खटिएका बेला धनगढी उपमहानगरपालिका वडा नं.१२ मा रहेको अस्थायी प्रहरी पोष्ट जुगेडाका दुई प्रहरीको हत्या भएको थियो।
प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बहादुर विक र प्रहरी जवान रामबहादुर साउदको तस्करहरूले हत्या गरेका थिए। हत्याका मुख्य योजनाकार राना नै रहेको प्रहरीले जनाएको छ।
असई विकको शव २ कात्तिकमा नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए। त्यसको दुई दिनपछि ४ कात्तिकमा जवान साउदको शव पनि मोहना नदीमै फेला परेको थियो। हत्या आरोपमा यसअघि प्रहरीले आठ जनालाई पक्राउ गरिसकेको छ।