किशोरीलाई घाइते बनाएर बलात्कार प्रयास गर्ने दुई महीनादेखि फरार, प्रहरी मिलेमतोको आशंका
जुम्लाको कनका सुन्दरी गाउँपालिकामा झण्डै दुई महिना अघि १६ वर्षिया किशोरीलाई बलात्कारको प्रयास गर्ने युवालाई प्रहरीले अझै पक्राउ गर्न नसकेको भन्दै पीडितका आफन्तले चिन्ता व्यक्त गरेका छन्।
गएको २१ कात्तिकमा कनक सुन्दरी–५ का वीरेन्द्र बोहोराले सोही गाउँपालिकाको वडा नम्बर २ की १६ वर्षिया किशोरीलाई जंगलमा एक्लै हिंड्दै गरेको अवस्थामा बलात्कारको प्रयास गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय जुम्लामा परेको छ। २९ कात्तिकमा दर्ता भएको जाहेरीमा जंगलको बाटो एक्लै हिंडिरहेका बेला, कुटपिट गरेर उठ्नै नसक्ने बनाएपछि बलात्कार प्रयास गरेको उल्लेख छ।
प्रहरी कार्यालयका डीएसपी माताप्रसाद काफ्लेले जबजस्ती करणी प्रयासमा जाहेरी दर्ता भएको बताए। उनले भने, “जाहेरी दर्ता भएको छ, हामीले खोजी गरिरहेका छौं, परिवारले भनेको जस्तो नखोजेको वा बेवास्ता गरेको भन्ने होइन।”
किशोरीका आफन्तले भने जाहेरी दर्ता नहुन्जेल घरमै रहेका युवक त्यसपछि भागेको जनाएको छ। परिवारले उनलाई भगाएको किशोरीका दाजुले बताए। किशोरीका दाजुले भने “हामीलाई घटना मिलाऔँ भने, हामीलाई सहयोग गर्ने लोभ देखाए। तर, हामीले नमानेपछि उनीहरुले भगाए।”
पीडित परिवार स्थानीय प्रहरी चौकी पुगिसकेपछि पीडित परिवार र केही स्थानीयले मिलापत्रका लागि दबाव दिएका थिए। जाहेरी दिन गएका पीडित परिवारलाई मिल्न दबाव दिएपछि प्रहरीले कानूनी व्यवस्थाबारे जानकारी गराएको थिएन। न त अग्रसर भएर जाहेरी नै दर्ता गराएका थिए। पछि तीन दिन ढिला गरी मात्र जाहेरी दर्ता भएको थियो।
पीडितका दाजुले हिमालखबरसँगकाे टेलिफोन कुराकानीमा यसाे भनेः
मेरो बहिनी (काकाकी छोरी) २१ कात्तिकमा सिंजामा आलु बेच्न गएकी थिइन्। हाम्रो गाउँपालिका र सिंजा गाउँपालिकाको सीमनामा जंगलको बाटो भएर जानुपर्छ। त्यही बाटो फर्किँदा केटाले घटना गराएछ। बहिनीले भने अनुसार पहिले परिचय गरेर कुराकानी गरेछ। अनि एक्लै भएको थाहा पाएपछि पहिला थाइमा (तल्लो भाग) बेस्सरी कुटेर लडाएछ। बहिनीले प्रतिकार गर्न खोज्दा गालातिर टोकेछ। मुक्काले मुख, छाती जताततै हानेर उठ्न नसक्ने बनाएछ।
पछि बहिनी एक्लै रुँदै, चिच्याउँदै गरेको थाहा पाएर अलि टाढा खेतबारीमा काम गर्ने महिलाहरु गएछन्। बहिनी उठ्नै नसक्ने रहिछन्। उनीहरुले बिस्तारै गाउँसम्म लगेर अनि घर पठाएछन्। लाज हुन्छ भनेर बहिनीले पहिला कसैलाई भनिनन्। तर, पछि आमाले सोधेपछि मात्र सबै कुरा थाहा भयो।
हाम्रो घर अलि टाढा छ। उनको घरमा सोझो बुबाआमा र दुई छोरीहरु छन्। एउटा छोरा (पीडित बहिनीको दाइ) सुर्खेतमा पढ्छन्। बुबाआमाले पहिला चौकीमा भन्नुभएछ। केटाको घर र चौकी वल्लो पल्लो घर जस्तै छ। चौकी गएको थाहा पाएर केटाको बुबालगायत गाउँका केही व्यक्तिले ‘राहतको व्यवस्था मिलाउँला जिल्ला नजानू’ भनेछन्।
के गर्ने भनेर बाबुआमा अलमल हुनुभएछ। अनि मात्र आफ्नो छोरा र हामीलाई भन्नुभयो। २६ कात्तिकमा केटीको दाइ पनि घर आएपछि हामी सबै बसेर यस्तो घटनामा मिल्नु हुँदैन भनेर सल्लाह गरेर फेरि चौकी गयौं। त्यसपछि चौकीले जिल्ला (जिल्ला प्रहरी कार्यालय) जानु भनेपछि गयौं।
सदरमुकाम पुग्न एकदिन हिँड्नुपर्छ। गाडीमा गए पनि घुमाउरो बाटो भएकाले दिनभरि नै लाग्छ। हामीसँगै केटाको बुबा (धन बहादुर) पनि गए। माफी मागे। ‘जे जति भन्छौ सहयोग गर्छौं, बरु छोरी बहिनी मानेर दशैंतिहारमा टीका लगाउँला’ भन्दै सदरमुकामसम्मैै पुगे। हामी प्रहरी कार्यालय छिरेपछि उनीहरु बजार फर्किएका थिए। हामीले जाहेरी दर्ता ग¥यौं। स्वास्थ्य जाँच गर्दा बलात्कार प्रयास गरेको भन्ने देखिएकाले बलात्कार प्रयास भनेर जाहेरी दर्ता भएको छ। जाहेरी दर्ताकै बेलुकादेखि केटा घरमा छैन भनेर प्रहरीले हामीलाई भन्यो।
मेरो बहिनीमाथि यस्तो गर्नेले मेरै बहिनी वा गाउँका दिदीबहिनीलाई फेरि त्यस्तो गर्छ भनेर पनि हामीले माफी दिएर मिल्नु हुँदैन। ऐनकानुन अनुसार उसले सजाय पाओस् भनेर हामी लागेका छौं। मानवअधिकार आयोगको जिल्ला कार्यालय र महिला संजालमा पनि निवेदन छोडेका छौं।
प्रहरीले राम्रोसँग नखोजेको भन्ने हामीलाई लागेको छ। इलाका प्रहरी चौकी नजिकै केटाको घरमा पसल छ। केटाको बुबा गाउँकै एक विद्यालयको प्रधानाध्यापक हो। उनीहरु नै पो चौकीमा गएर ‘केटा भेट्टायौ त?’ भनेर सोध्दा रहेछन्।
केटालाई यदि प्रहरीले नभेटेको हो भने केटाको बाबुलाई ल्याएर केरकार गर्नुपर्छ। केटाको बाबुले पहिला हामीलाई मिल्न दबाब दिएको र हामी नमानेपछि बाबुले नै छोरा भगाएको भनेर अर्को निवेदन जिप्रकामा दिने तयारीमा छौं। समाचारमा आयो भने प्रहरीले खोज्न अलि चासो देखाउला कि भनेर जिल्लाका मिडियाहरुलाई पनि भन्यौं। तर कसैले पनि समाचार बनाएनन्।
केटाको बाबु र आफन्त पावरवाला मान्छे हुन्। त्यही भएर घटना बाहिर नल्याउन सबैतिर भनेको होला। अहिले हामी दाजुभाइको काम नै प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय धाउने र प्रहरीलाई फोन गरेर सोध्ने मात्र भइरहेको छ।