अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो उद्देश्य होइन : पर्यटनमन्त्री ढकाल
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताएका छन्।
आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरूसँग कुरा गर्दै मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका हुन्।
आफूले सकेसम्म सेवामा समर्पित गर्दै सुनाम कमाउने मात्रै उद्देश्य राखेको मन्त्री ढकालले बताए। “स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य हैन। जति सक्छु म सेवामा समर्पित हुन्छु। जति कमाउनु छ मलाई सुनाम कमाउनु मात्रै छ”, मन्त्री ढकालले भने।
पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर, त्यस भित्रका बदानमीहरूले राम्रो नगरेको पनि मन्त्री ढकालले टिप्पणी गरे।
यस्तै, आइतबार नै पदभार ग्रहण गरेका खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
मन्त्री थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोशिस गर्ने बताए।
उनले स्थिरता र समृद्धिको बाहकको रूपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताए। मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताए।
आइतबार नै पदभार ग्रहण गरेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताए।
मन्त्री रायमाझीले देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताए। सरकारलाई बेवारिसे हुन नदिने र विकास निर्माण तथा समृद्धिका कामलाई गम्भीरतापूर्वक लिई जिम्मेवारी पुरा गर्ने बताए।
मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको पनि बताउनुभयो। देशको विकास र समृद्धिलाई अवरुद्ध हुन नदिने लक्ष्य सहित आफु सरकारमा उपस्थित भएको पनि मन्त्री रायमाझीले बताउनुभयो। उहाँले मन्त्रालयमा रहेर ऊर्जा क्षेत्रलाई क्रमश निर्यात हुने तर्फ अगाडी बढाउने बताउनुभयो।
यस्तै, नवनियुक्त शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताएका छन्। आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताएका हुन्।
शहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रित काम गर्ने बताए। यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रूपमा अगाडी बढाउने मन्त्री साहले बताए।
“यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु हो। मन्त्रालयको काम पनि निर्वाचन केन्द्रित गरेर गर्छौं। यो वर्षको बजेट आइसकेको छ। निर्धारित कार्यक्रम पनि बनिसकेको छ। त्यसैलाई प्रभावकारी ढंगले अगाडि बढाउँछौं”, मन्त्री साहले भने।