ओली र नेपाललाई मोहनचन्द्र अधिकारीको प्रश्न- ‘७० वर्ष हुँदासम्म किन पद नछोडेको ?
पूराना वामपन्थी नेता मोहनचन्द्र अधिकारीले नेकपाका नेताहरू केपी ओली र माधवकुमार नेपाललाई ७० वर्ष पुग्दा पनि किन पद नछाडेको भन्दै प्रश्न गरेका छन्।
अधिकारी २०२७/२८ सालमा झापामा भएको विद्रोहको नेता हुन्। अधिकारी प्रधानमन्त्री ओलीसँग सँगसँगै ‘वर्गशत्रु सफाय’ अभियानमा लागेका थिए, त्यसबेला। आन्दोलनमा लागेबापत पक्राउ परेर झण्डै १६ वर्षसम्म लगातार जेल जीवन बिताएका अधिकारी अहिले गुमनाम छन्।
बिहीबारदेखि ८२ वर्ष पूरा गरेर ८३ वर्षमा प्रवेश गरेका मोहनचन्द्र अहिलेका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालीरहेका छन्। अधिकारी नेकपामा आएको विभाजनलाई स्वभाविक ठान्छन्।
२०४९ सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रस्ताव पेश गर्दा नौलो जनवाद सम्बन्धी छुट्टै प्रस्ताव पेश गरेका उनले नयाँ जनवादी क्रान्ति गर्ने भन्दै तत्कालीन एमालेको स्थायी कमिटीबाट राजिनामा दिएका थिए।
विभाजन भएका नेकपाका दुई शक्तिलाई उनी कम्युनिष्ट मान्दैनन्। उनी भन्छन् “बुर्जुवा संसदवादी पार्टीमा हुने यस्तै हो। यीनिहरू कम्युनिष्ट नै होइनन्।”
२०५४ सालमा तत्कालीन एमाले विभाजन हुँदा अधिकारी मालेमा लागे। माले र एमाले एकीकरण भएपछि उनी पुनः एमाले भए। र, जनकपुरमा भएको पार्टीको सातौं महाधिवेशनमा सहभागी भए।
आफूलाई सातौं महाधिवेशनबाट ६० वर्ष उमेर पुगेको भन्दै जेष्ट कम्युनिष्ट मञ्चमा राखिएको सम्झँदै उनी तत्कालीन एमाले र अहिले दुई खेमामा विभाजन भएका केपी ओली र माधवकुमार नेपाललाई प्रश्न गर्छन्, “मलाई ६० वर्ष पुगिस् भन्दै पार्टीबाट जिम्मेवारी नदिएर निकाल्नेहरू किन ७० वर्ष हुँदासम्म नेतृत्वका लागि लडेका छौं?”
आफूभन्दा जेठा आफ्नै काका भरतमोहनलाई स्थायी कमिटीमा लैजाँदा आफूलाई ६० वर्षे उमेर हद लगाएर पार्टीमा भूमिकाविहीन गराइएको उनको दुःखेसो छ।