ओली समूहमा मिसिएका थापाले भने- ‘प्रतिनिधि सभाको विघटन स्थिरता र क्रान्तिका लागि’
बिहीबारदेखि नेकपाको केपी ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन्।
बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्ने बताए। प्रतिनिधि सभाको विघटन भएपछि भएका दुई पक्षका भेलामा कतै नगएका उनले बिहीबारदेखि उनले आफूलाई केपी ओलीको पक्षमा उभ्याएका हुन्।
नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहप्रति लक्षित गर्दै उनले उक्त समूहको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित रहेको र दुश्मनको जालमा परेको टिप्पणी गरे।
ओलीले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेकाले आफू ओलीको नेतृत्वमा उभिएको उनले बताए।
थापाले पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई दृढतापूर्वक अघि लैजाने समेत बताए।