प्रतिनिधि सभा विघटन हुन नसक्ने दाबी गर्दै सभामुखले भने- ‘संविधानको सर्वोच्चता निम्ति सबै संवेदनशील बनौं’
प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै सभामुख अग्निप्रसादले सापकोटा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा आफू मर्माहत भएको बताएका छन्।
बुधबार साँझ विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले भनेका छन्, ‘१७ पुसभित्र संघीय संसदको सातौं अधिवेशन शुरू गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रूपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र मलाई मर्माहत बनाएको छ।’
सभामुख सापकोटाले संवैधानिक सर्वोच्चताका लागि सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको समेत बताएका छन्।
‘संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ। त्यसैले संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको छ’ विज्ञप्तिमा भनिएको छ।
उनले संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको उल्लेख गरेका छन्।