प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा, कांग्रेस र जसपाले संयुक्त रूपमा संघर्ष गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (ओली समूह बाहेकको) र जनता समाजवादी पार्टीको बैठकले प्रतिनिधि सभा विघटन संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको ठहर गर्दै यसविरुद्ध साझा धारणा बनाएर विरोध गर्ने निष्कर्ष निकालेका छन्।
सोमबार साँझ नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको तीन दलको बैठकले यो कदम संविधानमाथिको आक्रमण भएकाले संयुक्त रूपमा एकताबद्ध भएर लाग्ने निर्णय भएको बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग बताए।
उनले तीनवटै पार्टीहरूको केन्द्रीय कमिटीको बैठक भोलि भएकाले संविधान विरोधी कदमविरुद्धमा कसरी एकताबद्ध भएर लड्ने भनेर पार्टीगत निर्णय हुने र त्यसपछि फेरि संयुक्त छलफल गरेर अघि बढ्ने बताए।
कांग्रेस नेता रमेश लेखकले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध तीनवटै पार्टी एकमत भएको निष्कर्ष बैठकले निकालेको बताए। केन्द्रीय कार्यसमिति बैठकपछि आगामी दिनमा सरकारको यो कदमविरुद्ध कसरी अगाडि बढ्ने भन्ने कुरामा सहमति भएको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
जसको सर्वत्र आलोचना र विरुद्धमा देशका विभिन्न शहरमा प्रदर्शन भइरेका छन्। यसविरुद्ध सोमबार मात्रै सर्वोच्च अदालतमा ११ वटा रिट दर्ता भएका छन्।
आइतबार नै बसेको नेकपा स्थायी कमिटी बैठक (ओली समूह बाहेक)ले ओलीलाई अनुशासनात्मक कारबाही गर्ने निर्णय गरेको थियो। उक्त प्रस्ताव अनुमोदनका लागि मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय कमिटी बैठमा लैजाने उक्त समूहको तयारी छ।
यता, प्रधानमन्त्री ओलीले पनि भोलि नै केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्। उनले बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएका छन्।
प्रतिनिधि सभा विघटनपछि सत्तारूढ नेकपा फुटको अन्तिम संघारमा पुगेको छ।