राष्ट्रपतिको असंवैधानिक कदम सच्याउन अदालतले आवश्यक निर्णय लिने आशा छ : पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिले लिएको कदमबाट राष्ट्रपति संस्थाको निष्पक्षतामाथि प्रश्न उठेको बताएका छन्।
पूर्वराष्ट्रपति डा. यादवले सोमबार दिउँसो नेपाली र अंग्रेजी भाषामा ट्वीट गरी आफूले राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकामाथि कहिल्यै टिप्पणी नगरेको भए पनि राष्ट्रपतिको कदमले अत्यन्त मर्माहत भएर आज टिप्पणी गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभाको विघटन गरेकी थिइन्।
राष्ट्रपति भण्डारीको यो कदम उल्लेख नगरिकन पूर्वराष्ट्रपति यादवले लेखेका छन्– ‘हामीलाई आशा छ, हिजोको असंवैधानिक कदमलाई सच्याउन सर्वोच्च अदालतले आवश्यक निर्णय लिनेछ।’
राष्ट्रपति संस्था देशको अभिभावक भएको र त्यसै संस्थामाथि देशले प्रश्न उठाएको पूर्वराष्ट्रपति यादवले टिप्पणी गरेका छन्।