प्रतिनिधि सभा विघटनको सिफारिस हुँदा प्रधानमन्त्रीविरुद्द अविश्वासको प्रस्ताव दर्ता
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गर्दा संघीय संसद सचिवालयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही सांसद पुगिसकेका थिए।
उनीहरू प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ताका लागि संसद सचिवालय पुगेका थिए। यता प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको खबर बाहिरियो।
लगत्तै प्रधानमन्त्री ओली त्यो सिफारिस लिएर शीतलनिवास गए। केही समयपछि राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति तोकिन्।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका सांसदहरू अविश्वास प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका थिए।
संसद सचिवालय पुगेकी नेकपाकी सांसद पम्फा भुसालले बिहान साढे १० बजे अविश्वास प्रस्ताव दर्ता भएको बताइन्। संसद सचिवालय स्रोतका अनुसार नेकपाका ९० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्।
नेकपाका सांसदहरू भीम रावल र भुसाललगायतले यसअघि राष्ट्रपतिसमक्ष संसदको विशेष अधिवेशन बोलाउन निवेदन दिन खोजेका थिए। राष्ट्रपति कार्यालयमा सो निवेदन दर्ता नभएपछि अविश्वास प्रस्ताव दर्ता गरिएको भुषालले बताइन्।