प्रतिनिधि सभा विघटनको सिफारिश राष्ट्रघाती कदम : रवीन्द्र मिश्र
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको बताएका छन्। मिश्रले यो संविधानमाथिको स्पष्ट ‘कू’ भएको बताएका छन्।
नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको उनको तर्क छ। संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई भएको र सो अधिकारको प्रयोग नै नगरी निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेको मिश्रले विज्ञप्ति निकालेर बताएका छन्।
"लोकतन्त्रमा विरलै प्राप्त हुने झण्डै दुईतिहाई जनमतमाथिको निर्लज्ज घात हो र जनताले यसको बदला आउँदा निर्वाचनमा लिनेछन् भन्ने हामीलाई विश्वास छ," मिश्रले विज्ञप्तिमा भनेका छन् ।
विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटका विश्वासिलो सहयोगीमा रूपान्तरित भएर राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पदको गरिमा जोगाउन नसकेको भन्दै यसपटक मन्त्रिपरिषद्को सिफारिश सदर नगर्न माग गरेका छन्।
प्रधानमन्त्रीको कदमकाविरुद्ध आम नागरिकहरू एक जुट भएर विरोधमा उत्रिन र सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकवद्ध हुन पनि उनले आह्वान गरेका छन् ।