निःशुल्क खानासँगै अब रोजगारी पनि दिइने
काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काम नपाउनेहरूलाई कृषि फार्ममा रोजगारी दिने भएको छ।
हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले गास, बास र कपास नहुने व्यक्तिहरूलाई कृषि फार्मममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताए।
अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर, काम नपाउनेहरूलाई रासनपानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरूलाई बस्ने र खाने व्यवस्था गरेको पन्तले बताए।
अब भने कोठापनि नहुने र काम पनि नपाउनेहरूलाई तराईको कुनै ठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको उनले बताए। अहिले हाम्रो टीम नेपालमा खाना खान आउनेमध्येका करीब ७०/८० जनालाई कृषि फार्ममा लगाउने पन्तले बताए।
हाम्रो टीम नेपालले मंगलबार काठमाडौंमा कोठा लिएर बसेका तर, काम नपाएका व्यक्तिका परिवारहरूलाई खाद्यान्न वितरण गरेको छ। नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले खाद्यान्न उपलब्ध गराएपछि वितरण गरिएको पन्तले बताए।