मोरङमा शिक्षकको हत्या गर्नेलाई कानूनी दायरामा ल्याउन मानवअधिकार आयोगको माग
राष्ट्रिय मानवअधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेको छ।
आयोगले बुधबार विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति खेद प्रकट गरेको छ।
शिक्षक श्रेष्ठको मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हत्या गरेको थियो। आयोगले आफ्ना विचारहरूमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न नेकपासँग आग्रह गरेको छ।
‘कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रूपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको बताइएको छ।