आर्थिक पुनरूत्थान कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरूत्थान गर्न ल्याइएका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
कोभिड-१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्य सम्पादन गरी क्षमता प्रदर्शन गर्न आग्रह गर्दै उनले आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरी गर्न निर्देशन दिए। अर्थ मन्त्रालय लगायत विभिन्न मन्त्रालयहरूको पूँजीगत खर्च बढाउनका लागि थप पहल गर्न निर्देशन दिंदै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालय समन्वयमा पनि जोड दिए।
पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनौट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्नका लागि सहजीकरण गर्न पनि मन्त्री पौडेलले आग्रह गरे। अर्थमन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने, समयमै बेरुजु फर्छ्योट गर्ने, लक्ष्य अनुरूप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएका सूचकहरूको लक्ष्य समयमै हासिल गर्ने गरी चालु आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न जोड दिए।
बैठकमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले चालु आर्थिक वर्षको प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजश्व परिचालनको अवस्था, विकास सहायता परिचालन, शाेधभर्नाको अवस्था, बेरुजु फर्छ्योटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे प्रस्तुति गरेका थिए।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र ब्यांकका गभर्नर, अर्थ मन्त्रालयका सचिवहरू र महालेखा नियन्त्रक, अर्थ मन्त्रालयका महाशाखा प्रमुखहरू, विभागीय प्रमुखहरू, नियमनकारी निकाय एवं आयोजना प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।