धरहरा बनाउने कम्पनी विरुद्ध मुद्दा
राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने पाँच कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ। विभागले नक्कली बिल प्रयोग गर्ने रमण कन्स्ट्रक्सनसहितका पाँच कम्पनी विरुद्ध मुद्दा दायर गरेको हो।
धनुषा, रघुनाथपुरस्थित करदाता रमण कन्स्ट्रक्सन प्रालिविरुद्ध रु. २० करोड ८७ लाख विगो असुल गरी जरिवाना र कैद मागदाबी गर्दै विभागले मुद्दा दायर गरेको हो। यो कम्पनीले वस्तु तथा सेवाको खरीद नगरी झुठ्ठा तथा नक्कली बिक्री बिजकबाट खरीद देखाई राजस्व चुहावट गरेको विभागको जिकिर छ। रमण धरहरा निर्माण गरिरहेको निर्माण कम्पनी हो।
यस्तै विभागले उदयपुर त्रियुगा नगरपालिकाको राउत ट्रेड कन्सर्नका प्रोप्राइटर कमलबहादुर राउत समेत दुइ जनाबाट रु. ४ करोड १६ लाख विगोसहित कैद सजायको समेत माग गरेको छ। कन्सर्नले निम्न आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरी झुठ्ठा तथा नक्कली भ्याटको कारोबारमार्फत भ्याट छली गरेको विभागको आरोप छ।
विभागले नक्कली बिजक प्रयोग गरी राजस्व छल्ने दोलखा तामाकोशीस्थित पीआरके ट्रेड इन्टरनेशनलका प्रोप्राइटर लहुमन माझीबाट रु. ५ करोड ५६ विगो असुल गरी जरिवाना र कैद मागदावी सहित मुद्दा दायर गरेको छ। त्यस्तै, राजस्व छली गर्ने बारा जिल्ला परवानीपुरस्थित मिनजा इन्टरनेशनलका संचालक रामवावु सहनीबाट रु.२ करोड १९ लाख विगो असुल गरी जरिवाना र कैद मागदावी सहित मुद्दा दायर गरिएको छ।
यसैगरी, झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गर्ने पर्साका नबिकरिम अन्सारी समेत ३ जनाबाट रु. ८ करोड २४ लाख विगो मागदावी सहित मुद्दा दायर गरिएको छ।