ठमेलका रात्रिकालीन व्यवसायीको प्रश्न- ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं ?’
ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय गर्दै आएका व्यवसायीहरूले व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले कोभिड संक्रमणको जोखिमका कारण आठ महीनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन्।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अब पनि व्यवसाय सुचारु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताए। ठमेलको रात्रिकालीन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न व्यवसायीहरूले माग गरेका छन्। सबै आधिकारिक निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाई नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरूको भनाइ छ। अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए।
रात्रिकालीन व्यवसायीहरूले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन्। ‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरबाहीले मर्दैछन’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘यत्रो महीना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरू सडक छेउमा उभिएका थिए।
तस्वीरहरू: