निजी क्षेत्रलाई हतोत्साही तुल्याएर मनोबल गिराइने छैन: अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई हतोत्साही तुल्याएर र मनोबल गिराएर सार्थक उपलब्धि हासिल नहुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंकका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए।
उनले रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले निजी क्षेत्रसँग सहकार्य गरिने बताए। भेटमा पौडेलले कोभिड-१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने बताए।
उनले गुनासाहरू आएकाले आफूले अवरोधहरू पन्छाएर बजेट र मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरूको कार्यान्वयनमा तत्परता लिएको जानकारी दिए। कुनै पनि कुरा निजी क्षेत्रलाई जबर्जस्ती नलाद्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिए। उनले भने, “निरन्तर संवाद र छलफलमा रहनेछौं, सुझाव लिँदै मिलेर काम गर्नेछौं।”
अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रूपमा समेत छलफल गर्ने भन्दै व्यवहारिक र कार्यान्वयन जान सकिने सुझावहरू दिन निजी क्षेत्रलाई आग्रह पनि गरे।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिएका थिए। महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपेर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रूप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए।